स्थानीय तहमा पनि पार्टी कमिटीले चाँडै पूर्णता पाउँछ : नेता रावल

रासस

शनिबार, ०७ असार २०७६, २० : ४७
स्थानीय तहमा पनि पार्टी कमिटीले चाँडै पूर्णता पाउँछ : नेता रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी  कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले स्थानीय तहको पार्टी कमिटीले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।

गृहजिल्ला अछाममा रहनुभएका रावलले चौरपाटी गाउँपालिकामा आयोजित जनसभालाई आज सम्बोधन गर्दै पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै पार्टीको स्थानीय कमिटीले पूर्णता पाउने बताउनुभयो ।
नेता रावलले  कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै असमानताको विरुद्ध र सिमानाको रक्षाको लागि आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो ।
 
सुदूरपश्चिम र अछामको विकासका लागि आफूले निरन्तर संसद्देखि सरकारमा आवाज उठाइरहेको उहाँको भनाइ थियो ।
नेता रावलले नेपाली काङ्ग्रेसको अलोकतान्त्रिक चरित्रका कारण नेपाली जनताले काङग्रेसलाई बढारेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसभासद शरदसिंह भण्डारी, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, प्रदेशसभा सदस्य गोविन्द कुँवर, प्रदेश कमिटी सदस्य दीपक साउद, कृष्णप्रसाद जैशी, केशर साउद, मीनबहादुर कुँवर, गोविन्द साउद, शङ्कर भण्डारी, पार्टीका जिल्ला सचिव झपट साउद र पूर्व प्रदेश कमिटी सदस्य बमबहादुर बिसीले जनसभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस