हावाहुरीले सर्लाहीमा दुई जना घाइते, करेन्ट लागेर बालकको मृत्यु

बुधबार, ०४ असार २०७६, ११ : ५८
हावाहुरीले सर्लाहीमा दुई जना घाइते, करेन्ट लागेर बालकको मृत्यु

सर्लाही । मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले  ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा  एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको छाती, पाखुरा, दाहिने हातमा गम्भीर चोट लागेको छ ।

 त्यस्तै मलङ्गवा–१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने एक कामदार घाइते भएका छन् । घाइते हुनेमा महोत्तरी जिल्ला परौल–६ बर्दिया घर घई हाल मलङ्गवा–१२ गम्हरीया कुखुरा फार्ममा काम गर्दै आएका ५७ वर्षीय लखन मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो । जस्तापाताले उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । 

अहिले दुवै घाइतेकोे उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भइरहेको छ । अत्यधिक तेजगतिको हावाहुरीले बालीनालीमा समेत क्षति गरेको किसानले जनाएका छन् । हावाहुरीले तरकारीबाली र आँपलाई बढी क्षति पु¥याएको चक्रघटना गाउँपालिका सगरदिनाका किसान बजै कुशवाहाले जानकारी दिनुभयो ।  

 यसैबीच करेन्ट लागेर सर्लाहीको रामनगर गाउँपालिकामा एक बालकको ज्यान गएको छ । रामनगर गाउँपालिका–१ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको हो । टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस