हुम्लाको दुर्गम गाउँमा विशेषज्ञ डाक्टरद्वारा उपचार

आइतबार, २६ जेठ २०७६, १७ : ०७
हुम्लाको दुर्गम गाउँमा विशेषज्ञ डाक्टरद्वारा उपचार

हुम्ला । कर्णाली प्रदेशको अति विकट हुम्ला जिल्लाका बिरामीले गाउँमै पहिलो पटक विशेषज्ञ डाक्टरद्वारा उपचार पाएका छन्   ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा विशेषज्ञ चिकित्सकहरु गाउँमै पुगेर उपचार र अप्रेसन गरेको यो पहिलो पटक हो। सर्केगार्ड, अदानचुली, ताजाकोट गाउँपालिकाका ५ हजार भन्दा बढी बिरामीलाई उपचार गरिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हुम्ला जिल्लामा आयोजना गरेको निःशुल्क शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको विशेषज्ञ टोलीले हुम्लाका दुर्गम गाउँमै पुगेर सामान्यदेखि जटिलसम्मको अप्रेसन गरेको हो । 

ताजाकोट गाउँपालिकामा १ हजार २ सय बिरामीमध्ये ९ जनाको हाडजोर्नी अप्रेसन र ४२ जनाको दाँतको उपचार गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मंगल रावलले जानकारी दिए ।

सर्केगार्ड गाउँपालिकामा १ हजार ८ सय ६० जनाको चेकजाँच गरिएको छ। तीमध्ये १६ जनाको जटिल अप्रेसन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रावलको भनाइ छ।

अदानचुली गाउँपालिकामा २ हजार बिरामीमध्ये ८७ जनाको दाँत र २३ जना हर्नियाका बिरामीलाई उपचार गरेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रावलले बताए। 

प्रतिक्रिया दिनुहोस