नक्कली भारुसहित युनुस अन्सारी पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, १४ : ०१
नक्कली भारुसहित युनुस अन्सारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जनालाइ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा युनुस अन्सारीसहित पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् । तिन पाकिस्तानी नागरिकलाई लिन युनुस विमानस्थल गएका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोख्रेलले जानकारी दिएका छन् । 

उनले दुई सुटकेस भारु कतारबाट नेपाल भित्र्याउने क्रममा प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख संदीप भण्डारीले जानकारी दिए। उनीसँगै अन्य ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

‘दुई वटा व्रिफ केशमा नोट बरामद भएको हो , नोट गन्ने काम भइरहेको छ , विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले भने । विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत पाकिस्तानबाट  ३ जना काठमाडौं आएका थिए ।
युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।

अन्सारीलाई पाँच वर्षअघि विशेष व्यूरोको टोलीले ३५ लाख नक्कली भारतीय रुपैयाँ सहित पक्राउ गरेको थियो। 

राजनीति र अपराधको दुनियामा युनुस नयाँ नाम होइन। नक्कली नोट काण्डमा पटक पटक परेका युनुस नेशनल टेलिभिजनका संस्थापकसमेत रहे। टेलिभिजन र सिनेमामा समेत लगानी गरेका युनुस पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा हुन्। सलिम मिया अन्सारीको ५ वर्ष अघि मृत्यु भइसकेको छ।

सलिम मिया तत्कालीन नेकपा एमाले हुँदै शाही शासनकालमा राजवादी बनेका थिए। त्यसपछि राप्रपा हुँदै फेरि माओवादी प्रवेश गरेका थिए। 

प्रतिक्रिया दिनुहोस