दासढुंगा पुगेर नेताहरुले भने– आज नेपालीको आँसु झरेको दिन

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, ११ : ४४
दासढुंगा पुगेर नेताहरुले भने– आज नेपालीको आँसु झरेको दिन

चितवन । ‘आज जेठ ३ गते कालो छायाँ नेपाली आकाशमा मडारिएको दिन, सारा नेपाली जनताले आँसु झारेको दिन’ दासढुंगा पुगेर नेकपाका केन्द्रीय तथा जिल्लास्तरका नेताहरुले यसो भनिरहँदा उपस्थित सयौँ सहभागीहरु भावविह्वल भएका थिए । 

चितवन, तनहुँ, गोर्खालगायतका जिल्लाबाट नेकपाका नेता कार्यकर्ताहरु आज मदन भण्डारी तथा जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनाबाट मृत्यु भएको ठाउँ दासढुंगा पुगेर मदन आश्रितले देखाएको बाटो हिँडेर नै पार्टी एकीकरणसम्म पुगेको बताए । 

आजैको दिन २०५० साल जेठ ३ गते पोखराबाट चितवन आउनेक्रममा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभागका प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो । 
नेकपाका सयौँ नेता कार्यकर्ताहरु दासढुंगा पुगेर मदन–आश्रितलाई सम्झदै एक मिनेट मौनधारण तथा शालिकमा माल्यार्पण गरेका थिए ।

नेकपा चितवन जिल्ला कमिटीको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय नेता तथा पूर्व सांसद काशीनाथ अधिकारीले विश्वमै मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा तरंग ल्याएको बताए । 
उनले भने, ‘आज सारा नेपाली शोकमा डुबेको दिन हो, तर यो शोकलाई शक्तिमा बदल्दै कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र) एकीकरण गर्न सफल भएका छौँ ।’ 

नेता अधिकारीले मदन भण्डारीले देखाएको बाटोमा आज हिँड्दै समाजवादतर्फ उन्मुख भइरहेको बताए । उनले भने, ‘सशस्त्र युद्धमा लागेका तत्कालीन माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मदन भण्डारी जेठ ११ गते छलफल गर्ने तयारी थियो, जेठ ३ गते मदन भण्डारीको हत्या भयो, यदी प्रचण्ड र मदन भण्डारीको भेट भएको भए न सशस्त्र युद्ध न गर्न पर्ने थियो, आजको यो राजीतिक अवस्था पनि छिटै आउने थियो । 

नेता अधिकारीले राजनीति क्रान्ति समाप्त भएको बताउँदै भने, ‘अब आर्थिक क्रान्तिमा हामी होमिएका छौँ, हिजो मदन भण्डारीले देखाएको बाटोमा हामी हिँडिँरहेका छौँ, मदन भण्डारीको सपनालाई साकार तुल्याउनेछौँ । 

कार्यक्रमका अध्यक्ष तथा नेकपा चितवनका जिल्ला कमिटी अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ले मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिद्धान्तबाटै पार्टी आज एकीकरण हुँदै यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘हिजो युद्धमा लाग्नुभएको पुष्पकमल दाहाल प्रचण्ड र जवजको सिद्धान्तमा अगाडि बढ्नुभएको मदन भण्डारीको एउटै यात्रा थियो त्यो हो ‘समाजवाद’, आज हाम्रो पार्टी त्यही समाजवाद उन्मुख भइरहेको छ ।’

उनले समाजवाद र साम्यावाद नेकपाको लक्ष्य भएको बताए । उनले भने, ‘प्रचण्ड र मदन भण्डारीको सिद्धान्त, विचार एकै रहेछ र आज हामी यहाँसम्म आउन सफल भएका छौँ, आज पार्टी एकीकरणको सम्पूर्ण प्रक्रिया पूरा हुँदैछ ।’

कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले आज देश रोएको दिन बताउँदै भने, ‘निश्वार्थ भई एक ढिक्का भएर अगाडि बढ्न सके हामीलाई कसैले रोक्न सक्दैन, दुई तिहाइको सरकारले चमत्कारी काम गरेर देखाइरहेको छ, यो मदन भण्डारीकै सपना हो, हामी पूरा गर्दैछौँ ।’

कार्यक्रममा नेकपाका जिल्ला सचिव तथा संघीय सांसद कृष्णभक्त पोख्रेलले मदन भण्डारीको हत्यारा एक न एक दिन पत्ता अवश्य लाग्ने बताए । उनले भने, ‘झापा आन्दोनलदेखि सशस्त्र जनयुद्धसम्मले ल्याएको नेपालको राजनीतिक परिवर्तनमा मदन भण्डारीको कुनै न कुनै रुपमा योगदान रहेको छ ।’

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल ‘अविनास’ले मदन भण्डारीको आजको दिन देशी विदेषी शक्तिबाट षडयन्त्रपूर्ण तरिकाले हत्या भएको बताउँदै भने, ‘मदन भण्डारी बाँचिरहेको अवस्था भए राजनीति क्रान्तिको लागि यति धेरै संघर्ष गर्नुपर्ने अवस्था हुने थिएन, पार्टी एकीकरण समयमै हुने थियो, ढिलै भए मदन भण्डारीकै सपना पूरा गर्नलाई पार्टी एकीकरण भएको छ ।’

कार्यक्रममा प्रदेश सांसद कृष्ण खनालले मदन भण्डारीको सपनालाई साकार पार्र्ने अभियानमा पार्टी लागिरहेको बताए । दासढुंगामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा चितवनका सभासद्, स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधिलगायत सयौँ कार्यकताहरु सहभागी भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस