काठमाडौं । ५४ औं विद्यार्थी एकता दिवस आज विभिन्न विद्यार्थी संगठनहरुले देशभर विविध कार्यक्रम गरी मनाउँदैछन् । अखिल क्रान्तिकारी र अनेरास्ववियुले राजधानी काठमाडौंमा विहान प्रभातफेरि आयोजना गरेका छन भने अन्य विद्यार्थी संगठनहरुले पनि कतै प्रभातफेरी, कतै अन्र्तक्रिया त कतै आफनै सापेक्षतामा कार्यक्रमको आयोजना गरेका छन् ।
निशुल्क र गुणस्तरीय शिक्षा हाम्रो अभियान, समाजवादी आधार निर्माणका लागि रचनात्मक आन्दोलन भन्ने नाराका साथ नेकपा निकट विद्यार्थी संगठनहरुले विहान भृकुटीमण्डप देखि भूगोलपार्कसम्म वृहत प्रभातफेरी कार्यक्रमको आयोजना गरेको अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले वताए ।
२०१७ साल पौष १ गतेको शाही ‘कू’ ले जनताका सीमित अधिकारलाई कुण्ठित ग¥यो । फेडरेशन भूमिगत हुन बाध्य भयो । संर्घषशील विद्यार्थीहरु चुपचाप रहन सकेनन् । ०१८ मा फेडरेशनको बैठक बसी स्ववियूको नारालाई अगाडि ल्याउने निर्णय भयो । २०२१ सालमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले असमान सन्धिहरुको विरोध, गोर्खा भर्तिकेन्द्रको खारेजीको माग, बन्दी विद्यार्थीहरुको रिहाई तथा स्ववियूको पूनर्वहालीजस्ता मागहरु राख्दै निर्णयहरु पारीत ग¥यो । सम्मेलन भएको खुशीयालीमा जेठ १ गते विद्यार्थीहरुले विशाल जुलुश निकाले । उक्त प्रर्दशनमा सरकारले जंगली आक्रमण ग¥यो । आक्रमणको विरोधमा उपत्यकाव्यापी हड्ताल भयो र सरकार विद्यार्थीहरुसँग सम्झौता गर्न बाध्य भयो । यही विजय भएको दिनलाई आज विद्यार्थी संघ संगठनले एकता र विजयको दिनको रुपमा तथा संगठन स्थापनाको रुपमा मनाउँदै आएका छन् ।
अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेका अनुसार, वि.सं. २०२१ साल बैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको क्रियाशीलता र व्यवस्थापनमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । यस सम्मेलनले निम्न मागसहितको एउटा मागपत्र तयार गरी सशक्त संघर्ष संचालन गर्ने निर्णय गर्यो ।
– गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने ।
– सबै राष्ट्रघाती असमान सन्धिहरूको खारेज गर्नुपर्ने ।
– स्ववियू खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने ।
– सम्पूर्ण बन्दी विद्यार्थीहरू विनासर्त रिहा गर्नुपर्ने ।
पाँच दिनसम्म चलेर सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुशीयालीको विजयभावमा जेठ १ गते विद्यार्थीहरूको विशाल जुलुस प्रदर्शन भयो । भर्खरै चक्चकीको अवस्थामा पुगेको पंचायती सत्ताले विद्यार्थी जुलुसमाथि व्यापक दमन गर्यो । पंचायती प्रहरीसँग आन्दोलनकारी विद्यार्थीहरूको व्यापक भीडन्त हुँदा कैयौं विद्यार्थी र प्रहरीहरू घाइते भएभने १५० भन्दा बढी विद्यार्थीहरू गिरफ्तार भए । त्यसपछि उपत्यकाव्यापी आम हड्ताल सुरू भयो । फलस्वरूप स्ववियू खोल्न पाउने अधिकार वहाली र बन्दी विद्यार्थी रिहाइसहित अन्य कतिपय माग पूरा गर्न पंचायती सत्ता बाध्य भयो । यसरी विद्यार्थीको एकताको बलमा आन्दोलनको जीत भएकोले हरेक वर्ष जेठ १ गतेलाई विद्यार्थी दिवस (एकता र विजय दिवश) को रूपमा मनाउँदै आइएको छ ।
त्यसयताका आजकासम्म आइपुग्दा नेपाली विद्यार्थी आन्दोलन थुप्रै घुम्तीमोड, उत्तार– दिन चढाव तथा एकता र संघर्षका श्रृंखलाहरु पार गर्दै अगाडि बढेको छ ।
‘संगठनका वैचारीक, राजनैतिक, संगठनात्मक र पेशागत शैक्षिक मुद्दाहरुप्रतिको बुझाई र त्यसलाई लागू गर्ने रणनीतिक योजना, कार्य्दिशा र कार्यनीतिक योजनामा हुने मतभिन्नताले कहिले संगठन दशौं र बीसौं टुक्रामा विभाजन हुने त कहिले सही विचार र नेतृत्वको कमाण्डमा एकीकृत हुने प्रक्रिया पनि निरन्तर चल्दै आएको छ ।’ अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारी भन्छन्, – ‘खासगरी नेपालका सबै राजनैतिक परिवर्तनको संघर्षमा विद्यार्थी आन्दोलनको उल्लेख्य योगदान भएको कुरालाई कसैले नकार्न नसक्लान् त्यसमा पनि ०३५÷०३६ को एकीकृत विद्यार्थी आन्दोलन नेपालको राजनैतिक आन्दोलनकै गौरव हो भन्न सकिन्छ । जसले निर्विकल्प भनिएको पञ्चायती व्यवस्थालाई जनमत संग्रहमा जान बाध्य तुल्यायो । २०४६ र त्यसपछि नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको लागि शुरु भएको जनयुद्ध र जनआन्दोलनमा नेपाली विद्यार्थी आन्दोलनको महत्वपूर्ण योगदान रहेको कुरा स्पष्ट नै छ ।’
नेपाली विद्यार्थी आन्दोलन मूलतः राजनैतिक आन्दोलनकै एक अभिन्न अंग रहदै आएको छ । नेपालका राजनैतिक पार्टीहरुका विचार, दर्शन र सिद्धान्तलाई बोक्ने, अनुशरण गर्ने, प्रचार गर्ने र लागू गर्ने काम विद्यार्थी संगठनहरुले गर्दै आएका छन् । त्यसो गर्दा स्वभावैले कतिले क्रान्तिकारी विचार, राजनीतिलाई अनुशरण गर्दै नेपाली समाजको आमूल परिवर्तनको पक्षमा आफूलाई उभ्याउँदै आएका छन् भने कतिपयले यथास्थितिमा सीमित सुधारको रटान लगाउने गरेका छन् ।
आज मुलुक संविधानसभाबाट नयाँ संविधान निर्माण गरी अगाडी वढेको छ । केन्द्रमा झण्डै दुई तिहाई जनमत सहितको कम्युनिष्ट पार्टीको सरकार छ । सात मध्ये ६ ओटा प्रदेशमा कम्युनिष्ट पार्टीकै एकल सरकार छ ।
यस्तो वेला प्राप्त उपलब्धीको रक्षा गर्ने, संविधानमा उल्लेखित जनताका अधिकारहरु सुरक्षित गर्ने र शैक्षिक अधिकारहरुको ग्यारेन्टी कसरी गर्ने भन्ने विषयमा बहसहरु छन् । विद्यार्थी एकता दिवसको सन्दर्भमा छलफल गर्दैगर्दा यो विषयमा ध्यान केन्द्रीत गर्न पर्ने कतिपय विद्यार्थी नेताहरु वताउँछन् ।
आजका दिनसम्मको नेपालको राजनैतिक परिस्थितिलाई हेर्दा मुलुक अव समृद्धि र विकासको पथमा अगाडी वढन खोजेको देखिएको छ ।
शैीषक क्षेत्रमा सुधारको माग राखी आन्दोलन गर्नु विद्यार्थी संघ संगठनको दायित्व वन्न पुगेको छ । शैीषक क्षेत्रको वजेटमा वृद्धि गराउने, आमुल शैीषक सुधारका माग उठाउने काम अहिले विद्यार्थी संगठनका दायित्व हुन् । तर कतिपय सन्र्दभमा विद्यार्थी संगठनका नेताहरु विचौलियाको रुपमा मात्र काम गर्ने र विद्यार्थी हक हितलाई सौदावाजीको विषय पनि वनाईएको देखिन्छ । यसले विद्यार्थी संगठनलाई भुत्ते वनाउादै लगेको छ । यसतर्फ संगठनका नेताहरुले सोच्नु पर्ने विद्यार्थीहरु वताउन थालेका छन् ।
हिजो आज विद्यार्थी आन्दोलनको प्रतिपक्षीय चरित्रको विषयमा पनि व्यापक चर्चा हुने गरेको छ । यो कुरा सत्य हो कि विद्यार्थी आन्दोलनको चरित्र प्रतिपक्षीय नै हुनुपर्दछ । तर, यसको मात्रा कति भन्ने कुराको निर्धारण समकालीन सत्ताको चरित्रमा निर्भर गर्दछ । परिस्थितिदेखि डराएर भाग्ने होइन, परिस्थितिलाई आफ्नो काबुमा राख्ने, उपलब्धिहरुको रक्षा गर्ने र लक्ष्य प्राप्तिको लागि निरन्तर संघर्षको रणनैतिक योजनामा अगाडि बढ्नु नै आजको विद्यार्थी संगठनको दायित्व हो ।
अहिले सरकारी विद्यालय संरक्षणविहीन बन्दै गएका मात्र छैनन्, विद्यार्थी नपाएर मर्ज हुने अवस्थामा पुगेका छन् । त्यसको संरक्षण, गुणस्तर र स्तरोन्नतीको लागि तुरुन्त अभियान थालिएन भने के विद्यालय के विश्वविद्यालय ती सार्वजनिक क्षेत्र धरासायी हुने अवस्थामा छन् । यतातिर पनि विद्यार्थी आन्दोलनको ध्यान जान जरुरी छ । तसर्थ आजको सन्दर्भमा विद्यार्थी आन्दोलनको चरित्र रचनात्मक र व्यवहारिक पनि बन्न जरुरी छ ।
शिक्षालाई मौलिक अधिकारको रुपमा संविधानमा ब्यवस्था छ । यो सवालमा सबै विद्यार्थी संगठनहरु एकै स्थानमा छन् तर शिक्षामा भएको निजीकरण र माफियाकरणलाई नियन्त्रण र निर्मूल गर्ने कुरामा विद्यार्थी संगठनहरुले आवाज उठाउनै पर्छ । मुलुक र मुलुकको शिक्षालाई यथास्थितिको चक्करमा फसाउन चाहने तत्वहरुका विरुद्धको संघर्ष गर्ने संकल्प नै आजको विद्यार्थी दिवसको मूलमन्त्र बन्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ जेठ २०७६, ०८ : ३९
लेखकबाट थप