कांग्रेसको जागरण अभियानमा रामचन्द्र पौडेलकै असन्तुष्टि

पार्टी महाधिवशेन धकेल्न र कांग्रेसभन्दा आफनो गुट बलियो बनाउन अभियान चालिइएको दावी

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, ०८ : ०२
कांग्रेसको जागरण अभियानमा रामचन्द्र पौडेलकै असन्तुष्टि

काठमाडौं । प्रदेश तथा प्रतिनिधीसभा चुनावमा धक्का लागेपछि पहिलो पटक प्रतिपक्षी कांग्रेस यतिखेर जागरण अभियान लिएर जिल्लातहमा दौडधुप गरिरहेको छ । पुस १६ गतेसम्मको तीन चरणको कार्यक्रम बनाई गत वैशाख २५ बाट कांग्रेसले जागरण अभियान शुरु गरेको हो । सरकारविरुद्ध खबरदारी गर्न र पार्टीको आन्तरिक अवस्था मजवुत पार्ने उद्देश्य कांग्रेसको देखिन्छ । तर अभियानप्रति कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्त्ुष्टि जनाएका छन् ।

विद्यान अनुसार जाने हो भने कांग्रेसले यही वर्षको फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्ने छ । तर सभापति शेरबहादुर देउवाको महाधिवशेन टार्ने र एक वर्ष विशेष परिस्थितीका आधारमा आयु लम्वाउने योजना छ । कदंदाचित पार्टीभित्रको प्रेसरका कारण महाधिवशेनमा जानु पर्ने अवस्था आयो भने त्यसका लागि आफ्नो पक्षको जनमत बलियो बनाउने उद्देश्यले अभियानमै देउवाले आन्तरिक रणनीति बनाएको वुझाईमा पौडेल पक्ष छ ।

त्यही भएर पनि पौडेलले अभियानमा असन्तुष्टि जनाएका छन् । जागरण अभियानका विषयमा पार्टीमा छलफल नगराएको, एक पटकमात्र प्रवक्तामार्फत जानकारी आएको र जिल्ला पठाएका केन्द्रीय प्रतिनिधी पनि मनोमानी ढंगले छलफलविनै पठाएको भन्दै पौडेलको असन्तुष्टि छ ।

‘अभियान चलाउनु पर्छ भन्नेमा उहाँ (रामचन्द्र पौडेल)को असन्तुष्टि होइन, तर जसरी अभियान चलाउँदा पार्टीमा छलफल भएन, केन्द्रीय प्रतिनिधी एकलौटी निर्णयका आधारमा खटाउने काम भयो, त्यसैमा उहाँको असन्तुष्टि हो,’ पौडेल निकट एक नेताले सफल खबरसँग भने ।

आफु निकट नेताहरुलाई महत्वपूर्ण जिल्लामा प्रतिनिधी बनाएर पठाएको र अरुलाई न्यूनीकरण गर्न खोजिएको भन्दै पौडेलको असन्तुष्टि हो । सरकार विरुद्ध खवरदारी गर्ने र संगठन सुदृढीकरण गर्नेभन्दा अभियानबाट आफनो पक्षको गुट बलियो बनाउने र कांग्रेस कब्जा गर्ने नियतमा अभियान चलाईएको पौडेल पक्षले आशंका गरेको छ ।

उसो त डेढ वर्षअघिको आमचुनावमा कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पौडेल लगायतका केही नेताहरूले यस्तै प्रकारको अभियान माग गरेका थिए । ‘खासमा उहाँले महासमिति बैठकअघि नै जागरण अभियान चलाउनुपर्ने माग
गर्नुभएको थियो,’ पौडेलको मागबारे बताउँदै पौडेल निकट एक नेताले भने, ‘चुनावलगत्तै पार्टीमा बढ्दै गएको ध्रुवीकरणले त्यो सम्भव हुन सकेन । अहिलेपनि पार्टीभित्र एकमत छैन । महाधिवेशनको तयारी गर्नुपर्ने समयमा जागरण अभियान भन्दै केन्द्रीय समिति आयो ।’

पुस १६ सम्मको लामो जागरण अभियानको कार्यक्रम बनाउनुको भित्री मक्सद महाधिवेशन धकेल्ने उद्देश्य लुकेको आशंका पौडेल पक्षले गरेको छ । ‘फागुनमा महाधिवशेन गर्नुपर्ने छ, त्यसको तयारीमा जुटनु पर्नेमा अभियानलाई
१६ पुससम्म लम्वाउन खोज्नुले महाधिवशेन नगर्ने नियत देखिन्छ,’ पौडेल पक्षका ति नेताले भने ।

नेतृत्वले पार्टी सञ्चालन गर्न नसकेको आमकार्यकर्ताको गुनासो रहेको कांग्रेसका नेता तथा पूर्वमन्त्री लक्ष्मण घिमिरे बताउँछन् । ‘नेतृत्वले राम्रोसँग पार्टी सञ्चालन गर्न नसकेको कुरा मेची महाकाली, तराई हिमाल जताततैका कार्यकर्ताबाट गुनासो आइरहेको छ,’ घिमिरेले सफलखबरसँग भने, ‘अहिले महाधिवेशनको तयारी शुरू नगरिकन जुन जागरण अभियान शुरू गरिएको छ, त्यो पनि एउटा केन्द्रीय कार्यसमितिले निर्णय नगरिकन एकैचोटी अपर्झट केन्द्रीय कार्यालयबाट आएको हो । नेतृत्वले समयमै महाधिवेशनका बारेमा सोच्नुपर्दथ्यो ।’
 

प्रतिक्रिया दिनुहोस