शताब्दीका साक्षी सत्यमोहनलाई आज विशेष सम्मान गरिदैं

आजैबाट सय वर्ष पुगे सत्यमोहन जोशी , ललितपुर महानगरमा सार्वजनिक विदा

सफल खबर संवाददाता

सोमबार, ३० बैशाख २०७६, ०८ : ४०
शताब्दीका साक्षी सत्यमोहनलाई आज विशेष सम्मान गरिदैं

काठमाडौं । सस्कृतविद्द सत्यमोहन जोशी आजवाट सय वर्षमा प्रवेश गरेका छन् । सय वर्षको उमेरमा पनि जोशीको सक्रिय जीवन लोभलाग्दो छ ।

लोक संस्कृतिको अध्ययन, विकासका साथै साहित्य लेखनमा जोशीले पुरै जिन्दगी बिताएका छन् ।  वि सं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उनको जन्म भएको थियो ।

तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति पनि उनी हुन् । जोशीले विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाएका थिए ।‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो । विसं २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक समेत बनेका थिए ।

जोशीले २०१६ सालमा पाचौं शताब्दीदेखि बीसौं शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गरेका थिए । भाषा, कला, संस्कृतिको संरक्षण, संबद्र्धन र विकासमा जोशीले महत्वपूर्ण योगदान गरेका छन् ।

जोशीको यही महत्वपूर्ण योगदानको कदर गदै उनको सय वर्षको जन्मदिनमा एक वर्षसम्म विविध कार्यक्रम गर्ने ललितपुर महानगरपालिकाले निर्णय गरेको थियो । त्यसका लागि महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय मूल समिति गठन गरिएको थियो ।

एकसय वर्षमा प्रवेश गरेका जोशीको सम्मानमा ललितपुर महानगरपालिकाले आज विशेष कार्यक्रम आयोजना गदैछ । उनलाई सांस्कृतिक झाँकीसाथ ललितपुरको मंगलबजारस्थित निवासबाट महानगरपालिका कार्यालयमा ल्याइने छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यमा जन्म शताब्दी वर्ष शुरुआत गरिने मेयर चिरिबाबु महर्जनले वताए ।

रक्तदान, दीपावली र महानगरपालिकामा बसोबास गर्ने १०० वर्ष नाघेका अन्यलाई पनि सम्मान गर्ने कार्यक्रम ललितपुर महानगरपालिकाको छ । जोशीको जन्म शताब्दीका दिन आज महानगरले सार्वजनिक बिदा दिने निर्णय  समेत गरेको छ ।

त्यसपछि एक वर्षभित्रमा महानगरपालिकाले विद्यालयको स्थानीय पाठ्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीको जीवनी भएको पाठ्यसामग्री समावेश गर्नेछ । जोशीका बारेमा लेखिएका सामग्रीहरू संकलन गरी स्मारिका प्रकाशन गर्नेछ । यसैगरी सरकारसँग समन्वय गरी जोशीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने मेयर महर्जनले जानकारी दिए ।

त्यस्तै, जोशीको तस्वीर अंकित रु. २ हजार ५०० दरका १ हजारवटा, रु.२ हजार दरका १ हजार वटा र रु. १०० दरका ५ हजारवटा चाँदीका सिक्का निकाल्ने तयारी भइरहेको छ ।

सोही अवसरमा महानगरपालिकाले जोशीद्वारा ललितपुर पाटनमा भण्डारखाल बगैंचा शिलान्यास गराउने, उनको नाममा पार्क र सडक नामकरण गर्ने, पुरस्कार र पदक स्थापना गर्ने, ललितपुरको पिम्बाहल पोखरीमा मल्लकालीन संगीत सांस्कृतिक साँझ आयोजना गर्ने लगायत कार्यक्रम रहेका छन् ।

एकवर्षभरिमा हुने उक्त कार्यक्रमको संयोजन मेयर महर्जनको संयोजकत्वमा गठन गरेको वाङ्मय शताब्दी पुरुष जन्म शताब्दी महोत्सव मूल समारोह समितिले सञ्चालन गर्ने बताइएको छ ।

ललितपुर महानगरपालिकाले २०७४ सालमा वाङमय शताव्दी पुरुष जोशीलाई सम्मानस्वरूप एउटा मोटर, चालक, मोवाइल प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस