संघीय समाजवादीमा सुरु भयो किचलो

सरकार छोड्ने र नछोड्नेमा बाबुराम र उपेन्द्रबीच मतभेद

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १७ : ४६
सरकार छोड्ने र नछोड्नेमा बाबुराम र उपेन्द्रबीच मतभेद

काठमाडौँ । सङ्घीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकतापछि बनेको समाजवादी पार्टी समय सीमा दिएर सरकार छाड्ने मनस्थितिमा रहेको छ । 
समाजवादी पार्टीको तर्फबाट अहिले उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा अध्यक्ष उपेन्द्र यादव र सहरी विकास मन्त्रीमा पार्टी सचिव मोहम्मद इस्तीयाक राई सरकारमा छन् । अध्यक्ष यादव तत्काल सरकार छाड्ने अवस्थामा छैनन् । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकताका क्रममा सरकारलाई माग पुरा गर्नका लागि निश्चित समय दिने र माग पुरा नभएमा सरकार छाड्ने औपचारिक सहमति भएको छ ।  अर्का अध्यक्ष डा. बाबुराम भट्टराई भने निश्चित समय सीमा दिएर सरकारबाट बाहिरिनुपर्नेमा अडिग छन् । 
समाजवादी पार्टीका एक प्रभावशाली नेताले आफ्नो पार्टीले सरकार छाडिदिँदा राजपा नेपाल सरकारमा जाने र आफूहरू सडकमा हुने अवस्था आउने भएकाले तत्काल सरकार नछाड्ने अवस्थामा यादव पुगेको स्रोत बताउँछ ।  तर समाजवादी पार्टीका नेता नवराज सुवेदीले भने आफूहरूले निश्चित समय सीमा दिएर सरकार छाड्न सक्ने बताउँछन् । 
पूर्व फोरम आबद्ध समाजवादी पार्टीका नेताले भने सरकारमा बसेरै सङ्घर्ष गर्नुपर्नेमा पार्टीले निर्णय लिने बताएका छन् । अहिलेको अवस्थामा सरकारबाट बाहिरिने कुरा केटाकेटी व्यवहार हुन्छ । आफूले सरकार छाड्दासाथ राजपा सरकारमा जाने र आफूहरूले कार्यकर्ता व्यवस्थापन गर्न समेत समस्या हुने यादव पक्षधरको बुझाई छ । प्रदेश दुईको सरकार समेत हेरफेर हुनसक्ने भएकाले तत्काल समाजवादी पार्टीले सरकार नछाड्ने ती नेताको तर्क छ । नयाँ शक्तिका नेताहरु भने समय सीमा दिएर सरकार छाड्ने मनस्थितिमा छन् । 

प्रतिक्रिया दिनुहोस