प्रधानमन्त्रीको भियतनाम भ्रमण : व्यापार तथा लगानी साझेदारीसम्बन्धी सम्झौता

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १७ : २८
प्रधानमन्त्रीको भियतनाम भ्रमण : व्यापार तथा लगानी साझेदारीसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र भियतनामबीच व्यापार तथा लगानी साझेदारीसम्बन्धी सम्झौता भएको छ । भियतनामको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भियतनाम सरकारबीच भएको छलफलपछि दुई देशबीच कुटनीतिक तथा विशेष राहदानी बहाकहरुलाई भिसा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका छन् । 
यस्तै, दुई देशबीच व्यापार तथा लगानी साझेदारी सम्बन्धी फ्रेमवर्कसम्बन्धी सहमतिपत्रमा दुई देशका उद्योग मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गरेका छन्। भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ ।
भियतनामको राजधानी हानोइमा प्रधानमन्त्री ओलीलाई राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको थियो । 
प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । उहाँको सम्मानमा त्यहाँको सैनिक टुकडीले गार्ड अफ अनर प्रदान गरेको छ।
दुई देशबीच १९७५ मा कुटनीतिक सम्बन्ध स्थापनापछि पहिलो पटक नेपालका प्रधानमन्त्री भियतनामको राजकीय भ्रमणमा जानुभएको हो ।
भेटवार्ताका क्रममा दुई देशबीचको पराम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउँदै उच्चस्तरीय भ्रमण तथा छलफलहरु बढाउँदै लैजाने विषयमा पनि छलफल भएको थियो। त्यस्तै दुबै देशबीच जनसम्बन्ध बढाउन २०२० मा कुटनीतिक सम्बन्ध स्थापनाको ४५ वर्षगाँठ मनाउने विषयमा छलफल भएको छ।
दुबै नेताले कृषि क्षेत्रको विकास खुला बजारको विषयमा छलफल गरेका थिए। चामल, व्लाक पेपर, रवर तथा फलफूलको उत्पादनका लागि कृषि क्षेत्रमा साझेदारी तथा अनुभवको आदानप्रदानका विषयमा छलफल भएको थियो।
छलफलका क्रममा दुई नेताबीच पर्यटन, संस्कृति, सूचना प्रविधि, उडड्यनका क्षेत्रमा साझेदारीका विषयमा छलफल भएको थियो। भियतनामले भियतनाम नेपाल फ्रेण्डिसिप एसोसिएसन गठन कार्यलाई तीव्रता दिने भएको छ।
प्रधानमन्त्री ओलीले नेपालको पर्यटन प्रवर्द्धन र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्न भियतनामी पक्षसँग आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस