तरकारीमा विचौलियाको मनपरी : कृषिमन्त्री मौन, उपभोक्ता मारमा

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १७ : ०६
तरकारीमा विचौलियाको मनपरी : कृषिमन्त्री मौन, उपभोक्ता मारमा

काठमाडौं । दैनिक उपभोग्य वस्तुको रुपमा रहेको तरकारीको बजार भाउबिचौलियाले अत्याधिक मात्रामा बढाएका छन् । कृषिमन्त्री चक्रपाणी खनाल भने यो विषय थाहा नपाए झैं गरी बसिरहेका छन् । उनले उपभोक्ता र किसान दिनदहाडै मारमा पर्दा समेत चुपचाप बसेर विचौलियालाई साथ दिएका छन् ।  

पछिल्लो १० दिनमा विचौलियाले तरकारीको मूल्य ३५ प्रतिशत वृद्धि गरेका छन् । जसका कारण उपभोक्ता नराम्ररी मारमा परेका छन् । तर नियमन गर्ने सरकारी निकाय विचौलियाले बढाएको तरकारीको मूल्य थाहा नपाएको जस्तै बसीरहेको छ । 

कालीमाटी तथा फलफूल बजारमा नै अत्याधिक मात्रामा तरकारीको मूल्य बढाइएको छ । राजधानीको प्रमुख तरकारी बजारको रुपमा रहेको यस तरकारी बजारमा विचौलिया हावी भएका छन् । उनीहरुले नेपालको तरकारी जति सबै मौसमी प्रकोपका कारण क्षति भएको कारण देखाएर अत्याधिक मात्रामा भारतीय तरकारी भित्र्याएका छन् । 

उपभोक्ताको भान्छा महंगो बनाउने विचौलियाको चलखेल रोक्नेतर्फ सरकार लाग्नु पर्नेमा हालसम्म त्यस्तो काम भएको छैन । नेपाली किसानको तरकारीभन्दा भारतीय बजारबाट भित्र्याइएको तरकारीमा बढी नाफा हुने भन्दै विचौलियाले चलखेल गरेको पाइएको छ । उनीहरुले योजनावद्ध रुपमा नै नेपाली तरकारी नल्याउने र अघोषित रुपमा नेपाली तरकारी भन्दै भारतीय तरकारी भित्र्याएका छन् । 

कालीमाटी फलफूल तथा तरकारी बजारले तय गरेको मूल्यभन्दा उपभोक्ताले खुद्रा बजारमा खरीद गर्ने तरकारीको मूल्य बढी छ ।  सामान्यता राजधानीमा कालीमाटी तरकारी बजारमा सस्तो तरकारी पाइन्छ भन्ने आममनोविज्ञान रहेको छ । तर विचौलियाका कारण तरकारीको मूल्य अत्याधिक मात्रामा वृद्धि भएको छ । 

कालीमाटी तरकारी बजारले तय गरेको थोक मूय अनुसार गोलभेडा ठूलोको प्रतिकिलो अधिकतम ७० रुपैयाँमा बिक्री भएको मूल्य सूची पाइन्छ । तर व्यापारीले सोही गोलभेडालाई प्रतिकिलो १०० रुपैयाँसम्म बिक्री गरिरहेका छन् । आलु रातो २९ रुपैयाँ थोक बजारमा रहेको भनिएपनि खुद्रा बजार भन्दै व्यापारीले ४० रुपैयाँसम्म लिने गरेका छन । प्याज सुकेकोको थोक मूल्य २७ रुपैयाँ भएपनि बजारमा ४० रुपैयाँको हाराहारीमा प्याज बिक्री भइरहेको छ ।  

यस्तै गाजर ३५ रुपैयाँ, बन्दा २८, काउली स्थानीय ९५, मूला सेतो ४५, भन्टा लाम्चो ७५, भन्टा डल्लो ७५, बोडी ७५, घिउ सिमी ७५, तिते करेला ७५, लौका ६५, परवर ८५, चिचिण्डो ६५, घिरौला ७५, फर्सी पोकेको ६५, फर्सी हरियो ४५, भिण्डी ८५ प्रतिकिलोमा बिक्री भइरहेको छ । 

यस्तै रायो साग १००, पालूगो साग १००, चमसुरको साग १००, तोरीको साग ७०, मेथीको साग १००, प्याज हरियो ७० मा बिक्री भएको छ । च्याउ २८०, न्यूरो १४०, ब्रोकाउली १३० मा बिक्री भएको छ ।  कालिमाटी तरकारी बजार  काठमाडौंको सस्तो बजार मानिन्छ । त्यहि कारण खुद्रा पसलेका अलावा कतिपय उपभोक्ता समेत तरकारी लिन कालिमाटी नै पुग्छन् । तर अहिले यहि थोक बजारमा तरकारीको मूल्य महंगो परेको छ । बजारमा ७० रुपैयाँ भन्दा कम मूल्यका तरकारी पाउन मुस्किल परेको छ । 

काठमाडौंमा खपत हुने तरकारीको ठूलो हिस्सा भारतबाट आउँछ भने अर्को व्यापारीले भनेजस्तो किसानले उचित मूल्य पाएकै छैनन् । विचौलिया मोटाउने र किसान तथा उपभोक्ता दुवै मारमा पर्ने गरेका छन् । सरकारको  अनुगमन र नियमन भने हात्तीको देखाउने दाँतभन्दा बढी हुन सकेको छैन ।  किसानले सस्तोमा बेच्नु पर्ने र उपभोक्ता समेत मारमा पर्ने अवस्थाको अन्त्य कहिले होला ? अनेकन बहानाबाजी गरेर तरकारीको मूल्य बढाउने विचौलियालाई  कहिले कारवाहीको दायरामा ल्याइएला त ? आमउपभोक्ताको प्रश्न छ । 

प्रतिक्रिया दिनुहोस