हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याई छाड्ने : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, १७ : ४३
हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याई छाड्ने : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधिनता सुदृढ हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंको वसन्तपुरमा खड्गी समाजद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयोे, ‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर राष्ट्रिय एकता मजबुत हुन्छ ।’

अध्यक्ष प्रचण्डले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क पनि गर्नुभयो । उहाँले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने र त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि धारणा राख्नुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरूमा खड्गी समाजले र्पुयाएको योगदानको पनि चर्चा गर्नुभयो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको ऐतिहासिक प्रथम केन्द्रीय अधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै मेलम्चीको पानी प्रधानमन्त्री र मन्त्रीले छिट्टै ल्याउन चाहेकोमा कुनै शंका नभएको बताउनुभयो ।

‘मेलम्ची छिट्टै ल्याउँदा त्यसको प्रभावलाई ख्याल गर्दा प्रधानमन्त्री र मन्त्रीले देखाउनुभएको तत्परतामा पनि कुनै शंका छैन,’ अध्यक्षले भन्नुभयो, ‘ मैले विगतको सबै अनुभवहरुलाई र्हेदा बलियो हात नचलाईकन र सरकारले दह्रो कदम नचालीकन अझै पनि कठिन छ ।’

सरकार अर्को वैकल्पिक व्यवस्था गरेर छिटो भन्दा छिटो मेलम्ची ल्याउने तयारीमा भएको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले अगाडि भन्नुभयो, ‘प्रधानमन्त्री र म आफैंले हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी लिएर आउनुपर्छ भन्नेमा दृढ छौं ।’

अध्यक्ष प्रचण्डले पानीका लागि हामीले गर्नपर्ने धेरै ठूला कुराहरु रहेको बताउनुहुँदै खानेपानीको समस्या आन्तरिक रुपमा समाधान गर्ने कुरा खानेपानीलाई विश्वभरी पुराउने कुरासँग गहिरो सम्बन्ध रहेको बताउनुभयो । ‘हामीले स्थायी रुपले देशभित्रको खानेपानी समस्या समाधान गर्न जबसम्म सक्दैनौ तबसम्म दुनियाँले हाम्रो व्यवस्थापन, क्षमता र सरकारको कामलाई विश्वास गर्ने आधार पनि हुँदैन,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस