हाटबजार नियमन गर्न कार्यविधि बनाउँदै भरतपुर महानगर, राजमार्गबाट २०० मिटरभित्र हुनुपर्ने

हिरालाल आचार्य ‘डायमण्ड’

शुक्रबार, २७ बैशाख २०७६, १६ : ५४
हाटबजार नियमन गर्न कार्यविधि बनाउँदै भरतपुर महानगर, राजमार्गबाट २०० मिटरभित्र हुनुपर्ने

- हिरालाल आचार्य ‘डायमण्ड’

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित हाटबजारलाई नियमन र व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख रेनु दाहालले हाटबजारसम्बन्धी छुट्टै कार्यविधि बनाउन लागेको बताउनुभयो । उहाँले कार्यविधि बनाउने काम महानगर कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाले गरिरहेको बताउनुभयो । हाटबजारको अवस्था अव्यवस्थित पाइएपछि महानगरले यस्तो कदम चाल्न लागेको हो । 

महानगर कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाका प्रमुख विनोद लामिछानेले हाटबजार नियमन कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । महानगरले पहिलोपटक कार्यविधि बनाएर हाटबजारलाई नियमन र व्यवस्थापन गर्न लागेको हो । 

उक्त कार्यविधि अनुसार अब हाटबजार मुख्य राजमार्गबाट २०० मिटरभित्र र सहायक सडकबाट १०० मिटरभित्र हुनुपर्नेछ । एउटा हाटबजारदेखि अर्काे हाटबजारसम्मको दुरी कम्तीमा एक किलोमिटर हुनुपर्नेछ । हाटबजारमा बेचिने ८० प्रतिशत वस्तुहरु स्थानीय उत्पादन हुनुपर्नेछ । हाटबजारको लागि ग्रामीण र सहरी क्षेत्रमा जग्गा कति चाहिने भन्ने कुरा प्रमाणीकरण गर्न बाँकी रहेको शाखा प्रमुख लामिछानेले बताउनुभयो । तर हाटबजार सञ्चालित जग्गा कम्तीमा ५ कठ्ठा अनिवार्य रुपमा हुनुपर्ने उहाँको भनाइ छ । 

हाटबजार सञ्चालकले हाटबजारमा कार्यालय भवन बनाएर सम्पर्क व्यक्ति राख्नुपर्नेछ । हाटबजारको स्टलभन्दा बाहिर कतैपनि ठेलामा राखेर वा भुइँमा बसेर व्यापार गर्न नपाइने कार्यविधिमा छ । हाटबजारमा शुद्ध खानेपानीको ट्याङ्की राख्नुपर्नेछ । माछा विक्रीको लागि प्लाष्टर गरेको भुँइ र माछा धुनको लागि सफा पानी हुनुपर्नेछ । 

महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय हुनुपर्नेछ । फोहोर व्यवस्थापन गर्न निश्चित दुरीको अन्तरमा डस्विन राख्नुपर्नेछ । उक्त फोहोरलाई महानगरसँग सहकार्य गरी तोकिएको ठाउँमा लगेर व्यवस्थापन गर्नुपर्नेछ । कार्यविधिहरु १५ दिनभित्र कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको शाखा प्रमुख लामिछानेले जानकारी दिनुभयो । 

भरतपुरमा कति वटा हाटबजार सञ्चालनमा छन् भन्ने तथ्याङ्क कार्यविधि कार्यान्यवनमा आएपछि प्राप्त हुने लामिछानेले बताउनुभयो । कार्यविधि कार्यान्वयनमा आएपछि अब राजमार्गको नजिक रहेका हाटबजारहरु हट्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस