एकता संयोजन समितिको बैठक : वामदेव गौतमको नेतृत्वमा विकास समिति गठन

आइतबार, ०७ माघ २०७४, १८ : ३५
एकता संयोजन समितिको बैठक : वामदेव गौतमको नेतृत्वमा विकास समिति गठन

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियाका लागि बनाउने भनिएको वैचारिक र सांगठनिक समितिका लागि अझै गृहकार्य नपुगेको भन्दै विकास समिति बनाएर आइतबारको बैठक सकिएको छ ।
दुई पार्टीका शीर्ष नेता सम्मिलित कार्यदलले गत माघ ३ गते राष्ट्रियसभाको लागि संख्यासहितको सिट बाँडफाँड गरेको थियो । जसअनुसार राष्ट्रिय सभाको ४३ सिटमध्ये एमालेले २९ जना र माओवादी केन्द्रले १४ जना उम्मेदवार राष्ट्रिय सभामा उठाउने सहमति भएको थियो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कार्यदलले गरेको निर्णयलाई नै एकता संयोजना समितिको बैठकले अनुमोदन गरेको जानकारी दिए ।

बामदेवको नेतृत्वमा समिति
एमालेका नेता वामदेव गौतमको नेतृत्वमा उक्त समिति बनाइएको हो । गौतमको नेतृत्वमा रहेको समितिमा वर्षमान पुन, भिम रावल, ईश्वर पोखरेल, युवराज खतिवडा, मिनबहादुर श्रेष्ठ र विजय पौडेल रहेका छन् ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार अन्य समितिका लागि अझै केही गृहकार्य आवश्यकता देखिएको छ । आइतबार बस्ने बैठकले वैचारिक र पद बाँडफाँडका लागि समिति बनाउने तयारी गरिएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार मुख्यमन्त्री र सभामुखको बाँँडफाँडबारे सहमति गर्न जिम्मा दिएको छ । बाम गठबन्धनले जित्ने पक्का रहेको सात मध्ये ६ वटा प्रदेशमध्ये ४ वटामा मुख्यमन्त्री एमालेले र २ वटामा माओवादी केन्द्रले लिने गरी लगभग सहमति भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस