फोरम र नयाँ शक्तिबीच भयो एकता, यस्ता छन् सहमतिका मुख्य आधारहरु

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, १४ : ४६
फोरम र नयाँ शक्तिबीच भयो एकता, यस्ता छन् सहमतिका मुख्य आधारहरु

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको छ । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । 
सोमबार काठमाडौंको प्रज्ञाभवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर एकताको घोषण गरेका हुन् । 

प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई आफैं एकमात्र सांसद छन् । यसअघि स्थानीय तहको निर्वाचनका बेला पनि फोरम र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर, नेतृत्वमा सहमति नहुँदा दुई पार्टीबीचको एकता प्रक्रिया रोकिएको थियो ।

सहमति पत्रको पहिलो नम्बरमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित फोरम र  प्रगतिशील लोकतान्त्रिक शक्तिको रुपमा स्थापित नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल स्थापना गरिएको उल्लेख गरिएको छ । एकीकृत पार्टीले फोरमले अबलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्तिले अबलम्बन गर्दै आएको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्त अघि सारिएको छ ।  समाजवादी पार्टीको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिलाई रक्षा र विकास गर्नु रहने समझदारी पत्रमा उल्लेख गरिएको छ । यो एकीकरणसँगै नेपालमा नयाँ वैकल्पिक शक्तिको उदय भएको सहमतिपत्रमा दाबी गरिएको छ । 

एकताको आधारपत्रमा नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जलिअर्पण गर्दै वेपत्ता, घाइते र सहिद परिवारलगायत सबैप्रति उच्च सम्मान प्रकट गरिएको छ । 

एकीकरणको घोषणासँगै फोरम र नयाँ शक्तिदुबै विधिवत रुपमा विघटन भएको छ । नयाँ पार्टी समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरिने छ । 

सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल
सहमतिका मुख्य आधारहरु

प्रतिक्रिया दिनुहोस