गुराँसै फुल्यो वनभरि ...

मंगलबार, ०३ बैशाख २०७६, १८ : ३२
गुराँसै फुल्यो वनभरि ...

–  नारायण ढुङ्गाना
मैदाने, ओखलढुङ्गा । यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ । गुराँस फुल्ने मौसम भएकाले फूलसँग रमाउन नेपालका विभिन्न जिल्लामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 

बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ । अघिल्लो साता ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको मैदाने जङ्गल गुराँसले वन नै राताम्मे थियो । विभिन्न प्रजातिका गुराँसमा पर्यटक रमाउँदै थिए । 

ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङिवाङ्ङ्मिा शेर्पाले फाप्रेको सिरानमा रहेको मैदाने जङ्गल पर्यटकीय हिसाबले पनि आकर्षक क्षेत्र रहेको बताउनुभयो । उहाँले सो क्षेत्रसहित पिके डाँडा र खिजीलाई जोडेर पर्यटन विकासमा लागेको जानकारी दिनुभयो । भिन्न थरिको रङका गुराँसले वन नै रङ्गीचङ्गी भएर ढकमक्क भएको देख्दा जो सुकैलाई गीत गुनगुनाउन मन लाग्थ्यो । 

गुराँसै फुल्यो वनैमा ...
मेरो मन झुल्यो
तिम्रो मनैमा... 

नेपालमा ३२ प्रजातिका गुराँस अभिलेख छ । पूर्वी नेपालदेखि पश्चिमसम्मै पाइन्छ गुराँस । पूर्वी नेपालमा सबैभन्दा धेरै फुल्छ । पाँचथर, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत जिल्लाका उच्च क्षेत्र यतिबेला गुराँसले ढकमक्क छ । 
हुन त तराईका उच्च भेगतिर पनि गुराँस फुल्छ । एक पर्यटक पथप्रदर्शक तेण्डु शेर्पाले गुराँस हिमाली तथा उच्च पहाडी क्षेत्रको शोभा भएकाले यसको संरक्षण गरेर पर्यटनसँग जोड्नु पर्नेमा खाँचो औँल्याउनुभयो । 

तेह्रथुमको तीनजुरे, सङ्खुवासभाको जलजले र ताप्लेजुङको मिल्के (तीनजुरे–मिल्के–जलजले) क्षेत्र त गुराँसको राजधानी नै हो । करीब २५ प्रजातिका गुराँस पूर्वमा पाइन्छ भने पश्चिम नेपालमा पाँच प्रजातिका पाइन्छन् । मध्यभागमा आठदेखि १० प्रजातिका गुराँस भेटिन्छ । ताप्लेजुङको तोक्गोलालगायत तीनजुरे, मिल्के, जलजला क्षेत्रमा सबैभन्दा बढी गुराँस पाइने भएकाले सरकारले संरक्षण गरिरहेको छ ।  
जलजले हिमाली क्षेत्रमा बढी गुराँस पाइने वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले बताउनुभयो । सरकारले तीन–जुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँस संरक्षण क्षेत्रको रुपमा घोषणा गरेर संरक्षण गर्दै आएको छ । एक हजार ५०० मिटरदेखि तीन हजार मिटरसम्ममा बढी नेपालको राष्ट्रिय फूल लालीगुराँस पाइन्छ । तीन हजारमाथिको क्षेत्रमा अरु प्रजातिका गुराँस भेटिने राईले बताउनुभयो । 

रोडोडेन्ड्रोन लौन्डेसी र रोडोडेन्ड्रोन क्वानियानुम नेपालमा मात्र पाइने प्रजाति हो । लौन्डेसी मुस्ताङ र फोक्सुण्डो ताल आसपास क्षेत्रमा पाइन्छ । क्वानियानुम भने चार हजार ५०० मिटरमाथि मनास्लु हिमाल क्षेत्रमा पाइने वनस्पति विज्ञले बताएका छन् ।

प्रजातिअनुसार फरक फरक समयमा फुल्ने गुराँस समयानुसार एउटा सकिएपछि अर्काे गरी लगभग वर्षेभरि देखिने गर्छ । तल्लो भेगमा माघ, फागुनमा फुल्छ भने र माथिल्लो भेगमा दुई हजारदेखि तीन हजार ५०० मिटर क्षेत्रमा वैशाखमा फुल्ने गर्छ । जेठ असारमा भने तीन हजार ५०० मिटरमाथि मनसुन सक्रिय भएका बेलामा फुल्ने गर्छ ।

नेपालको राष्ट्रिय फूल लालीगुराँस भने माघदेखि वैशाखसम्म फुल्ने गर्छ । लालीगुराँस अन्य फूलभन्दा हेर्दा आकर्षक र मनमोहक लाग्छ । विभिन्न प्रजातिमध्ये रोडोडेन्ड्रोन ग्राण्डे सबैभन्दा ठूलो फूल हो । यस फूलको आकार झण्डै मान्छेको टाउको बराबरको हुने महानिर्देशक राईले बताउनुभयो । सामान्यतः अरु गुराँसभन्दा लालीगुराँसको फूल ठूलो हुन्छ । 

मुख्यतः लालिगुराँस, चिमाल, सुनपाती, कोर्लिङगर, सेतो, चिमाल, रातो चिमाल, सेनो सुनपाती, भाले सुनपाती, झुसे चिमाल, पहँले चिमाल, रधु, खियाउने पाते गुराँसलगायत मुख्य प्रजाति हुन् । विभिन्न क्षेत्रमा अहिले महोत्सव नै गरेर गुराँस संरक्षण गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने गरिएपछि इन्धनका लागि यसको रुख काट्न क्रम भने बढ्दो रहेको छ । 

गुराँसको पात विषालु
सबै गुराँसका पात भने विषालु हुने वनस्पति विज्ञले बताएका छन् । गुराँसको फूलबाट बनेको महसमेत विषालु नै हुने महानिर्देशक राईले बताउनुभयो । गुराँस र अङ्गेरीको रस चुसेर मौरीले मह बनाएको रहेछ भने त्यसले मात लाग्ने उहाँले बताउनुभयो ।

गुराँसको पालुवा आएका बेलामा गाईवस्तुले खायो भने मर्ने उहाँको भनाइ छ । पछिल्लो समयमा गुराँसको जुस बनाएर खाने चलन भएको भन्दै उहाँले यसको विषादीका बारेमा भने परीक्षण नभएकाले जुस बनाएर खान विभागले सिफारिस नगर्ने बताउनुभयो ।

गाउँमा माछाको काँडा अड्किएको बेलामा गुराँस खाने चलन छ । घाँटी दुखेको बेलामा पनि गुराँसको फूल खाने गरिन्छ । ओखलढुङ्गाका स्थानीय भने लालीगुराँसबाहेक अन्य रङ्का गुराँस विषालु हुने भएकाले नखान सल्लाह दिन्छन् । (रासस)

प्रतिक्रिया दिनुहोस