डिप्रेसनको पहिचान यसरी गरौं

मंगलबार, ०३ बैशाख २०७६, १६ : ४९
डिप्रेसनको पहिचान यसरी गरौं

डिप्रेसन धेरै प्रकारका मानसिक रोगमध्ये एक हो । डिप्रेसनले व्यक्तिको बानी–व्यवहारमा समेत असर पु-याउँछ । साथै, मानसिक रूपमा अनेकन समस्या निम्त्याउँछ । जब मानिसमा डिप्रेसन हुन थाल्छ, निराशापन बढ्दै जान्छ । मनमा अनेकन नकरात्मक विचार आउन थाल्छन् । यसलाई सुरुमै पहिचान गरेर उपचार गरिएन भने समस्या झनै बढेर जान्छ । त्यसपछि जिन्दगी नै बेकारको महसुस हुन थाल्छ ।

सन् १९९० मा विश्व स्वास्थ्य संगठनले गरेको शोधअनुसार मानिसलाई दुःख दिने रोगमा डिप्रेसन चौथो नम्बरमा थियो । सन् २०२० सम्ममा डिप्रेसन दोस्रो हुने डरलाग्दो अनुमान सार्वजनिक गरिएको छ । 

समस्याको तीव्रता बढ्दै गएमा मर्ने चाहना उत्पन्न हुन थाल्छ । मर्ने चाहना पछि गएर आत्महत्या गर्नेसम्ममा पुग्न सक्छ । वेलैमा पहिचान नभएका कारण राम्रो उपचार नहुनाले पनि डिप्रेसन रोग बढ्दै गइरहेको देखिन्छ । त्यसैले, डिप्रेसनका बारेमा जनमानसमा सही जानकारी दिनुपर्ने हुन्छ । त्यसका लागि यसका लक्षण जान्न आवश्यक छ ।

लक्षण
मुडमा परिवर्तन

जब मानिस डिप्रेसनको सुुरुको अवस्थामा हुन्छ । त्यतिवेला व्यक्तिको मुडमा परिवर्तन आउँछ । दुःखी हुने, रित्तो महसुस गर्ने र रुन मन लाग्ने खालको भावना आउँछ । यसर्थ, डिप्रेसनका मुख्य लक्षणमध्ये कमजोर मुड (लो मुड)पनि एक हो ।

बेखुसी
इच्छा र खुसी घट्दै जानु डिप्रेसनको अर्को लक्षण हो । कुनै कुराप्रति चाहना नहुनुका साथै खुसीसमेत महसुस हुँदैन । दैनिक क्रियाकलापलगायत अन्य महत्वपूर्ण  क्षेत्रमा समेत इच्छा घट्दै जाने गर्छ ।

तौल घटबढ
जब मानिसमा डिप्रेसन हुन थाल्छ, तौलमा समेत परिवर्तन देख्न सकिन्छ । तौल कि बढ्छ कि घट्ने गर्छ । अध्ययनअनुसार बच्चामा भने तौल बढ्ने गरेको पाइएको छ ।

निद्रामा असन्तुलन
डिप्रेसन भएछि प्रायः मानिसमा राति निदाउन नसक्ने, तर दिउँसो भने निद्रा बढी लाग्ने लक्षण देखिन्छ । कसैलाई आवश्यकभन्दा बढी निद्रा लाग्ने त कसैलाई निद्रा नलाग्नेसमेत हुन सक्छ ।

थकान
आवश्यकभन्दा बढी थकान हुनुका साथै अत्यन्त कम ऊर्जा पैदा भएको महसुस हुनेजस्ता लक्षण डिप्रेसन भएका मानिसमा देखिने गर्छ । यसले गर्दा कुनै कुरामा एकाग्र हुन नसक्ने, निद्रा नपुगेजस्ता लक्षण देखिने गर्छ । अत्यधिक थकानले गर्दा शारीरिक परिश्रम गर्नसमेत कठिनाइ हुने गर्छ ।

पश्चात्ताप महसुस
डिप्रेसनबाट पीडित मानिसलाई हरेक कुरामा पश्चात्ताप महसुस हुने गर्छ । उनीहरू हरेक कुरामा आफू अयोग्य भएको महसुस हुन्छ । कुनै पनि कुरा आफ्नो नियन्त्रण नहुने र नकारात्मक विचार बढी आउने गर्छ । जसले गर्दा सकारात्मक कुरामा समेत पश्चात्ताप र हीनताबोध हुन्छ । 

मर्न मन लाग्ने
डिप्रेसन भएका मानिसमा हीनताबोध बढी नै हुन्छ । यस्तो हुँदा उनीहरूमा मृत्युको विचार आउने गर्छ । अत्यधिक डिप्रेसन भएमा आत्महत्याको समेत विचार आउने गर्छ । यद्यपि, विचार आउँदैमा आत्महत्या गर्छन् नै भन्नेचाहिँ हुँदैन । तर, नैराश्यको भाव भने बढी नै आउने गर्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस