हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हावाहुरीबाट पीडित भएका बारा र पर्साका जनतालाई प्रदेश ३ सरकारले पनि सहयोग गर्ने बताउनुभएको छ ।
आँधीग्रस्त क्षेत्रको प्रत्यक्ष्य अवलोकनपछि रासससँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले विपद्को यो घडीमा यो वा त्यो प्रदेश नभनी सहयोग गरिने बताउनुभयो । पौडेलले प्रदेश ३ ले तत्काल राहत तथा पीडित जनताको पुनस्र्थापनाका लागि दीर्घकालीन व्यवस्थापनमा पनि सहयोग गर्ने उल्लेख गर्नुभयो ।
यसअघि बिहान सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्नुभएका मुख्यमन्त्रीले आज बाराको फेटा तथा कलैयाका पीडितलाई भेटेर सान्त्वना एवं समवेदना व्यक्त गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । मुख्यमन्त्रीसँग प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनाली, प्रदेशसभा सदस्य दीपक निरौला लगायतले घटनास्थलको अवलोकन तथा बारा र पर्साका विभिन्न अस्पतालमा पुगी बिरामीको स्वास्थ्य अवस्था बुझ्नुभएको संयोजक दाहालले बताउनुभयो ।
अवलोकन गरी फर्कनुभएका मुख्यमन्त्रीले घटनालाई दर्दनाक र त्रासदीपूर्ण प्राकृतिक विपत् भएको बताउँदै पीडितको व्यवस्थापनमा प्रदेशले के गर्न सक्छ छलफलपछि बताउने उल्लेख गर्नुभयो । सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश ३ सरकारले आवश्यक औषधि उपचारसहित चिकित्सक तथा स्वस्थ्यकर्मीको टोली पठाएको र उनीहरुले बाराको अस्पतालबाट घाइते तथा बिरामीको उपचार गरिरहेको बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस