राष्ट्रियसभा निर्वाचनको उत्कृष्ट व्यवस्थापन गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

विहीबार, ०४ माघ २०७४, १२ : ३४
राष्ट्रियसभा निर्वाचनको उत्कृष्ट व्यवस्थापन गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनलाई उत्कृष्ट ढंगले व्यवस्थापन गर्न सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय सभाको निर्वाचनलाई उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्न सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।

विहिबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाको निर्वाचन संचालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको अस्थायी मुकाम तोकिएसँगै राष्ट्रिय सभाको निर्वाचनमा सुरक्षा चुनौति थपिएको उल्लेख गर्दै त्यसलाई सहज बनाउन पनि सरकार र राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराए ।

आयुक्त यादवले निर्वाचनमा देखिएको सुरक्षा चुनौतिलाई हल गर्न स्थानीय राजनीतिक दलसँग बलियो सहकार्य गरेर अघि बढन पनि सम्बन्धित निर्वाचन अधिकृतहरुलाई सचेत गराए । यादवले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको मतगणनालाई सहज बनाउन प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । मतगणना झन्झटिलो भएकाले यसलाई सहज बनाउन कम्प्युटरमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको पनि प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । आयोगले निर्वाचनका लागि आवश्यक निर्देशिका र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको पनि स्पष्ट पारेको छ ।

आगामी माघ २४ गते बुधबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनलाई सम्पन्न गर्न आयोगले तयारीको कामलाई तीव्रता दिएको हो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न सरकार र राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने विश्वास पनि व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस