डाबर नेपालले अखाद्य पेय पदार्थ सप्लाइ गर्ने गरेको खुलासा

विहीबार, १४ चैत्र २०७५, १२ : ५१
डाबर नेपालले अखाद्य पेय पदार्थ सप्लाइ गर्ने गरेको खुलासा

 – सन्जय सहनी 
रौतहट । अखाद्य पेय पदार्थ विक्री वितरण गरिरहेको अवस्थामा गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले गरुडा बजारमा रहेको एउटा कोल्ड स्टोरमा छापा मारेर ठूलो परिमाणमा म्याद सकिएको पेय पदार्थहरु बरामद गरेको छ ।

अखाद्य पेय पदार्थ विक्री वितरण भईरहेको खवर पाएपछि प्रमुख प्रशासकीय अधिकृत टेकराज पंथी, उद्योग वाणिज्य संघका प्रतिनिधि र प्रहरी सहितको टोलीले गरुडा बजारस्थित सन्तोष कोल्ड स्टोर्समा छापा मार्दा डाबर नेपालद्धारा उत्पादित रियल, ब्रष्टको करिव २ सय कार्टुन म्याद सकिएको पेय पदार्थ बरामद गरिएका हुन् ।

डावर नेपालको अधिकृत विक्रेता सन्तोष कोल्ड स्टोर्समा छापा मार्दा ४ महिना देखि लिएर ९ महिना म्याद गुज्रिएको अखाद्य पेय पदार्थ रियल, व्रष्टको २०० एमएल देखि लिएर १ लिटर सम्मको जुसहरु ठूलो परिमाणमा बरामद गरिएको गरुडा नगरपालिकाले जनाएको छ । 

गरुडा नगरपालिकामा मंगलवार रौतहट क्षेत्र नम्वर १ का साँसद अनिलकुमार झा सहितका पाहुनाहरुको स्वागतका लागि मगाइएको डावरको रियल जुसहरु म्याद गुज्रिएको भेटिएको र स्थानीयहरुको गुनासो आईरहदा बुधवार उक्त कोल्ड स्टोर्समा छापा मारेर ठूलो परिमाणको अखाद्य पेय पदार्थ बरामद गर्न सफल भएको गरुडा नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत पंथीले जानकारी दिए ।

उपभोक्ता संरक्षण ऐन २०७५ र अपराध संहिता २०७५ अन्तर्गत स्थानीय तहबाट बजार अनुगमन गर्ने क्रममा हेर्दा उक्त पेय पदार्थको म्याद गुज्रिएको भेटाएको बताउँदै यसको पूर्ण दोषि डावर कम्पनी रहेको बताए । विक्रेताले समयमा क्लेम नगर्नु र कम्पनीले यस्ता पेय पदार्थ बजारमा पठाउने कार्य एकदमै गैरकानुनी भएको स्पष्ट पार्दै स्थानीय बासिन्दा, उद्योग वाणिज्य संघ र राजनितिक दलको आग्रहमा पहिलो पटक विक्रेतालाई चेतावनी दिएर छाडेको बताए । 

यदी पुन यस्ता पेय पदार्थ विक्री वितरण भएको पाइएमा कानुन बमोजिम कारवाही गरिने र बरामद गरिएको ठूलो परिमाणको रियल र व्रष्ट पेय पदार्थलाई गरुडा नगरपालिकाको मेयर इन्दुराय यादव, उपमेयर रंगीला देवी जयसवाल, उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र जयसवाल सहित स्थानीय बासिन्दाहरुको रोहवरमा नष्ट गरियो ।

प्रतिक्रिया दिनुहोस