प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै कोशीको सुखद शुरूआत

सफल खबर संवाददाता

आइतबार, ०६ माघ २०८१, १६ : १९
प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै कोशीको सुखद शुरूआत

काठमाडौं। बैतडीमा जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल शुरू भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद शुरूआत गरेको छ ।

खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १२ दशमलव एक ओभरमा ५३ रनमा समेटियो । बागमतीका लागि सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाइन् । कोशीका लागि कप्तान ​रुबिना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले समान २/२ विकेट लिए ।​

​फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनायो । उसका विमला मलाहाले अविजित १९ र कप्तान रुबिना क्षेत्रीले १५ रनको योगदान दिइन् । बागमतीका लागि मनीषा उपाध्यायले ह्याट्रिकसहित चार विकेट हात पारिन् । मनीषा जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।

 

 

 

 

 

 

कोशीकी कप्तान क्षेत्री प्लेयर अफ द म्याच भइन् । समूह ‘ए’बाट एपीएफ र सुदूरपश्चिमले शीर्ष चारमा स्थान बनाइसकेका छन् । यही माघ १ गतेदेखि शुरू प्रतियोगितामा नौ टोलीको सहभागिता छ ।

प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५२५ हजार पुरस्कार दिइनेछ ।

प्रतिक्रिया दिनुहोस