पूर्वप्रधानमन्त्री नेपालविरुद्ध चितवनमा नाराबाजी

यस्तो थियो नारा : ‘हिन्दू राष्ट्र जिन्दावाद, होली वाईन मुर्दावाद’

सफल खबर संवाददाता

सोमबार, ११ चैत्र २०७५, १६ : ५१
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध चितवनमा नाराबाजी

चितवन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ‘होली वाईन मुर्दावाद’ भन्दै नाराबाजी भएको छ । सोमबार भरतपुरमा आयोजना भएको महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा पूर्वप्रधानमन्त्री नेपाल भरतपुर आइपुग्नु भएको थियो ।
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपाललाई विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) ले गरेको ‘एसिया प्यासिफिक समिट’ को प्रवद्र्धक भएर काम गरेको भन्दै कार्यक्रममा आएका केही भक्तजनहरुले नारा लगाएका हुन् ।
हिन्दू राष्ट्र जिन्दावाद, होली वाईन मुर्दावाद भन्दै सबैभन्दा सुरुमा नारा लगाउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीविरुद्ध नै नाराबाजी भयो । त्यसपछि प्रहरी उनलाई नियन्त्रणमा नलिई फर्किएको थियो । नाराबाजीकै कारण १० मिनेट कार्यक्रम नै अवरुद्ध हुन पुग्यो । त्यसको ५ मिनेटपछि ती युवाले हिन्दू राष्ट्र जिन्दाबाद भन्दै नारा लगाएका थिए । प्रहरीले उनलाई चारतिरबाट निगरानी बढेएसँगै ती युवा कार्यक्रमस्थलबाट बाहिरिएका थिए । नारा लगाउने युवक स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालको तर्फबाट वडा सदस्य पदमा उम्मेदवार थिए ।
स्रोतका अनुसार हिन्दू धर्मको विपक्षमा उभिएका नेता नेपाललाई कार्यक्रमको प्रमुख अतिथि बनाइएको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार नेता नेपाललाई कालो झण्डा देखाउने उद्देश्यका साथ उनीहरु कार्यक्रमस्थल आइपुगेका थिए । प्रहरी हस्तक्षेपपछि उनीहरुले कालो झण्डा देखाउन भने पाएनन् ।

प्रतिक्रिया दिनुहोस