काठमाडौं । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने बताएका छन् । अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षणलाई यहाँ सम्बोधन गर्दै उनले जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताएका हुन् ।
“अन्य मुलुकमा सत्तासीन दल पराजित भइसकेपछि सरकार छाड्न हतारिन्छन्”, उनले भने, “तर हाम्रो देशमा सरकारको दल पराजित भइसके पनि सत्तालिप्सा भएर कुर्सीमा बसेका छन् । यहाँ निर्वाचनपछि जनमतको कदर भएको देखिँदैन ।”
सचिव ज्ञवालीले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइले राष्ट्रियसभाको निर्वाचनमा असर पर्ने बताउँदै चाँडै नै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुपर्ने बताए । उनले वाम एकताका लागि बिथोल्न केही शक्ति अझै लागिपरेको भन्दै त्यो सफल नहुने धारणा राखे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट आएपछि नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई मूर्त रुप दिने बताए ।
पार्टी एकताका लागि दुई पार्टीको व्यवस्थापनमा कुनै समस्या नभएको जिकिर उनको भनाइ थियो । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले वाम एकताले नेपाली कम्युनिष्ट विद्यार्थीको आन्दोलनलाई थप सहयोग पुर्याउने दाबी गरिन् । कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै अनेरास्ववियु मातहतका कमिटीको सहभागिता रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस