प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

मंगलबार, ०२ माघ २०७४, १४ : ४२
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं : प्रदेश प्रमुख र प्रदेशसभाको अस्थायी राजधानी तोक्ने विषयमा निर्णय गर्न मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बुधबार बिहानसम्मका लागि स्थगित भएको छ।  प्रदेश प्रमुख र प्रदेशको राजधानी तत्काल टुंगो लगाउन  सरकारलाई निर्वाचन आयोग र प्रमुख दलहरूले दबाब दिइरहेको वेला सरकारले त्यस विषयमा निर्णय गर्न मंगलबार मन्त्रिपरिषद् बैठक राखेको थियो। दलीय सहमति जुट्न नसकेको भन्दै मंगलबार बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बेलुकी चार बजे बस्ने कार्यसूची थियो। ‘प्रदेश प्रमुख र प्रदेशसभाको अस्थायी राजधानी तोक्नेजस्तो महत्वपूर्ण निर्णय गर्न दलीय सहमति कायम गर्ने उद्देश्यले बैठक बुधबार बिहानसम्मको लागि स्थगित भएको मन्त्री मीन विश्वकर्माले बताए। उनले भने, ‘राजनीतिक दलका नेतासँग थप छलफलबाट सहमतिमै प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न सकियोस् भन्ने उद्देश्यले बैठक (बुधबार) बिहान सम्मको लागि स्थगित गरिएको हो।’ बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने भएको हो।
 

प्रतिक्रिया दिनुहोस