चितवन । अविभाज्य राष्ट्र नेपालबाट ‘स्वतन्त्र मधेश’ को माग गर्दै तराईमा पृथकतावादी राजनीति गर्दै आएका सीके राउतले गत शुक्रबार सरकारसँग एघारबुँदे सहमति गरेपछि नेपाली राजनीतिमा नौलो तरंग आएको छ । सरकार–राउत सहमतिलाई पृथकतावादी आन्दोलनको शान्तिपूर्ण अवतरण भनिएपनि आशंकाको बादल हटिसकेको छैन ।
सहमतिको बुँदा नम्बर दुईलाई लिएर सहमतिकर्ता दुई पक्षको दुईथरी भनाइ बाहिर आइरहेका छन् । सहमतिको २ नम्बर बुँदामा ‘हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ उल्लेख छ ।
सहमतिमा सरकारको तर्फबाट हस्ताक्षर गरेका गृहमन्त्री रामबहादुर थापा बादलले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भनेको जनमत संग्रह नभएको बताएका छन् । सीके राउतले दुई नम्बर बुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भनेको जनमत संग्रह नै हो भन्ने दाबी गरिरहेका छन् । यही बुँदाले आशंकाको बादलको घेरामा देश रुमल्लिइरहेको छ । सहमति हुँदाका साक्षी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै नसक्ने बताएका छन् । एघारबुँदे सहमतिमा ‘जनमत संग्रह’ भन्ने शब्द कतै पनि उल्लेख छैन ।
सीकेको सपना
वेलायतबाट कम्प्युटर साइन्समा विद्यावारिधी गरी अमेरिकामा केही वर्ष वैज्ञानिकका रुपमा जागीर आएका राउत सन् २०११ मा नेपाल आएपछि पृथकतावादी आन्दोलन सुरु गरेका हुन् । उनले सीके राउत डट कम नामक ब्लगमा ‘स्वतन्त्र मधेश’ सम्बन्धी उनका विचारहरु राखेका छन् । राउतको ब्लगमा उल्लेख भए अनुसार उनले जनमत संग्रहको माध्यमबाट स्वतन्त्र मधेश घोषणा गरेर ‘नयाँ राज्य’ स्थापनाको सपना देखेका छन् । ब्लगमा रहेका अधिकांश प्रचार सामग्रीमा जनमत संग्रहलाई शान्तिपूर्ण आन्दोलनको सशक्त माध्यमका रुपमा व्याख्या गरिएको छ । त्यसैले सहमति लगत्तै राउत पक्षधरले जनमत संग्रहको विवादास्पद तर्क गरिरहेका छन् ।
सीके राउत डट कम नामक ब्लगको ‘ट्रेनिङ मेटेरियल्स’ अर्थात् तालिम सामग्री अन्तर्गत तस्बिरसहितका केही सामग्री राखिएका छन् । प्रश्नोत्तर शैलीमा राखिएको एउटा सामग्रीमा भनिएको छ, ‘हथौडी अपनी हथेली पर चलाना है या किल पर ?’ यसको अर्थ हुन्छ, हथौडी आफ्नो हातमा हान्ने कि किलामा ? शीर्षकको मुनि औंलामाथि हथौडा हानेको र किलामाथि हथौडा हानेको दुई चित्र जोडेर राखिएको छ ।
हिन्दी भाषामा राखिएको सामग्रीको नेपाली अर्थ यस्तो हुन्छ, ‘स्वतन्त्र मधेशको लक्ष्य राखौं भनेमात्र आन्दोलन सफल हुनेछ । नत्र धोका नै धोका पाइने छ । हथौडी जोडले चलाउनुमात्र पर्याप्त हुँदैन । हथौडीमुनि हामीले हात राखेका छौं कि किला ? परिणाम त्यसै अनुसार निस्कन्छ ।’ हथौडीलाई ‘आन्दोलन’, किलालाई ‘आजाद मधेश’ र हातको औंलालाई ‘नेपाली राज में अधिकार’ उल्लेख गरिएको छ ।
एघारबुँदे सहमतिमार्फत् सीके राउतले आन्दोलनको हथौडीमुनि अधिकारको हात पु¥याएका छन् । अब जनताको प्रश्न छ राउतलाई, ‘के सीके राउतले अब आन्दोलनको ‘हथौडी’ रोकेकै हुन् त ?’ उनकै भाषामा अब आन्दोलनको हथौडी चलाउनु भनेको उनकै हात (प्राप्त अधिकार) माथि चोट पु¥याउनुमात्र हो ।
को हुन् सीके राउत ?
सप्तरीको महदेवा गाउँमा जन्मेका चन्द्रकान्त राउत ९सिके राउत० अमेरिकास्थित नासामा कम्युटर वैज्ञानिकका रूपमा कार्यरत थिए । उनी सन् २०११ को अन्त्यतिर नेपाल फर्किएका हुन् । युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेनकफ एकाडेमिक एचिभमेन्ट अवार्डजस्ता सम्मानबाट उनी विभूषित भइसकेका छन् ।
लन्डनको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका राउतले गाउँकै विद्यालयबाट प्राथमिक तह र छिमेकी गाउँ कट्टीबाट माध्यमिक तहको शिक्षा प्राप्त गरेका थिए। विद्यालय तहको अध्ययन पूरा गरिसकेपछि राउतले नेपालको त्रिभुवन विश्वविद्यालय, जापानको टोकयो विश्वविद्यालय र लन्डनको क्याम्ब्रिजमा समेत अध्ययन गरेका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका उनले एक इन्जिनियरिङ क्याम्पसम विभागीय प्रमुख बनेर काम गरेका थिए। तर आफूलाई नसोधी व्यवस्थापनले सहायक विभागीय प्रमुख बनाएपछि उनले राजीनामा दिएर हिँडेका थिए। त्यसपछि जापान सरकारले दिने मोनबुसो छात्रवृत्ति पाएर राउत जापानतर्फ लागे ।
जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा घरबाट निस्केका राउतसँग कहाँ जाने भनेर कुनै योजना थिएन । भगवान् खोज्दै भन्दै भारतको कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराई, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टुपर्तीस्थित प्रशान्ति निलमयसम्म पुगेको उनले आफ्नो आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ मा उल्लेख गरेका छन् । भारतपछि पुनः नेपाल फर्केका उनी फेरि जापानतर्फ लागे। जापानमा पढाइको अन्त्यतर्फ उनी बिरामी भए। अस्पतालबाटै आफ्नो थेसिस लेखेका उनलाई थेसिसबारे आफ्नो कुरा राख्न एक जापानी साथीले अस्पतालबाट विश्वविद्यालयसम्म ह्विल चियरमा पुर्याएका थिए ।
जापानबाट स्नातकोत्तर गरिसकेपछि विद्यावारिधिका लागि राउतले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा आवेदन दिए र छनोट पनि भए। सप्तरीबाट पहिलोपटक इन्जिनियरिङ पढ्न काठमाडौं पुगेका बेला ऋतिक रोशन काण्ड भएको थियो। त्यस घटनामा भारतीय भन्दै कतिपय मधेसीउपर भएको कुटपिटको घटनालाई राउतले दमनका रूपमा लिएका थिए ।
अमेरिका बसाइका क्रममा राउतले मधेसी हकहितका लागि भन्दै गैरआवासीय मधेसी संघ स्थापना गरी अध्यक्ष बने। सन् २००६ को अगस्तमा सप्तरी फर्कंदा मधेस आन्दोलन सुरु भएको थियो। मधेसमा आन्दोलन चलिरहे पनि स्वतन्त्र मधेसको विकल्प नरहेको भन्दै राउतसहितको समूहले ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ स्थापना गरे। गठबन्धनको मूल नारा नेपाली उपनिवेश र रंगभेदको अन्त्य मधेसीको समुचित अधिकार र मधेसको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना थियो। गठबन्धनको आफ्नै झन्डा बनाएका राउतले मधेसको छुट्टै राष्ट्रगानसमेत तयार पारेका थिए ।
इन्टरनेट/अर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रुपमा प्रख्यात बिबिएनमा वैज्ञानिकका रूपमा काम गर्न सन् २००९ मा राउत अमेरिका गए। त्यहाँ पुगेर मधेसीको संगठन बनाउने योजना उनले कार्यान्वयन गरे। कम्प्युटर इन्जिनियरिङ पढेका र ह्याकिङ जानेका उनले स्पाइडर प्रोग्राम तयार पारी नेपालसँग सम्बन्धित वेबसाइटका लक्षित समूहका लाखौं इमेल संकलन गर्दै नियमित रुपमा आन्दोलनको वस्तुस्थिति र लेख पठाउँथे ।
अमेरिकाबाट मेची–महाकाली यात्रा गर्न राउत नेपाल फर्के। गैरआवासीय मधेसी संघको ब्यानर राखेर उनीसहितको समूहले मेची–महाकाली यात्रा गर्यो । यात्राको अनुभवबारे राउतले आत्मकथामा, ‘पहाडीहरु आफ्नो उपनिवेश लाद्न बढी उग्र र संगठित छन्’ भनेका छन् । मेची महाकाली यात्रापछि राउतले मधेसलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउन अभियानमा जुटे ।
अधिकांश समय गृहजिल्ला सप्तरीबाटै राजनीतिक गतिविधि गर्दै आइरहेका राउत संघीयता कार्यान्वयनपछि प्रदेश २ को राजधानी जनकपुरमै डेरा लिएर बस्दै आइरहेका छन् । केही दिन जनकपुरस्थित माछाबजार नजिक बसेका राउत अहिले जनकपुर–८ मा डेरा लिएर बसेका छन् । सुरक्षा निकायको निगरानीमा रहेका राउतले आफू बस्ने डेरालाई सिसिटिभी क्यामरामा कैद गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
सोमबार, २७ फागुन २०७५, १८ : १७
लेखकबाट थप