एउटा समय थियो जतिबेला अभिनेता कामेश्वर चौरसिया फिल्म खेल्न पाउने आशामा निर्माताको ढोका ढक्ढकाउँथे । संघर्ष गर्दागर्दै उनीकहाँ आइपुग्यो एउटा फिल्मको अफर – ‘रेशम फिलिली’ । रियल लाइफमा जसरी उनले कलाकार बन्ने संघर्ष गरिरहेका थिए, रिल लाइफ अर्थात् फिल्ममा पनि उनले त्यस्तै रोल पाए ‘हरिया’को ।
फिल्मका प्रमुख अभिनेता थिए, विनय श्रेष्ठ तर त्योभन्दा बढी चिनिए ‘कामेश्वर’ । कारण एउटै थियो– उनको जर्बजस्त अभिनय । त्यसपछि त उनलाई फिल्मको अफरैअफर । चल्तीका कलाकारहरु रेखा थापा, अनमोल केसी, सौगात मल्लदेखि दयाहाङ राईसम्म सबैसँग भटाभट स्क्रिन सेयर गर्ने मौका पाए । अवस्था यतिसम्म कि उनको अभिनय रहेको फिल्महरु लगातार हलमा प्रदर्शन भए ।
तर, विडम्बना यसरी प्रतिभाशाली अभिनेताको ‘ट्याग’ पाएका कामेश्वर अहिले ‘कामविहीन’ भएका छन् । १० महिना बढी भइसक्यो उनले कुनै पनि फिल्मबाट अफर पाएका छैनन् । किताब पढेर, फेसबुक चलाएर दिन कटाइरहेका छन् । भन्छन्, ‘अब त यसले पनि वाक्क बनाइसक्यो ।’ सुटिङ सेट खुब मिस गरिरहेका छन् उनी । आक्कलझुक्कल अफर आउँछ रे, त्यो पनि एक–दुई सिनका लागि ।
फिल्ममा अफर नआएपछि उनी गुजारा चलाउनका लागि अरु कामको खोजीमा पनि लागे तर चिनेजानेका साथीहरु काम दिनै मान्दैनन् । सिधै भन्छन्, ‘तैँले पनि काम गर्ने हो र ? तँ त कलाकार होस् । यस्तो काम गरेर हुँदैन ।’
काम नपाएर विरक्तिएका कामेश्वर के कारण काम पाइरहेका छैनन्, त्यो विषयमा बेखबर छन् । बस्, अनुमान लगाउँछन्, ‘मलाई घमन्डी छु भन्छन् । त्यही भएर हो कि !’ फेरि आफैँ स्पष्टीकरण दिन्छन्, ‘तर म त्यस्तो छैन, मनको सफा छु । मैले फिल्म क्षेत्रलाई बुझ्न नसकेको कि, मलाई फिल्म क्षेत्रले । म कन्फ्युज छु ।’ शुक्रवारबाट
प्रतिक्रिया दिनुहोस