निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्छ : आयुक्त डा यादव

सोमबार, ०१ माघ २०७४, १६ : १२
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्छ : आयुक्त डा यादव

विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताएका छन् । क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको विराटनगरमा उद्घाटन गर्दै उनले यसले आयोग शक्तिशाली हुनाका साथै निर्वाचन सम्पन्न गर्न सहजता हुने धारणाा व्यक्त गरे ।

आयुक्त यादवले आगामी माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग आफ्नो काम कार्यवाहीलाई अघि बढाउन बाध्य हुने बताए ।  उनले प्रदेश प्रमुख नतोकिँदा निर्वाचनसम्बन्धी कानुनी जटिलता उत्पन्न भएकाले चाँडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरे ।

आयुक्त यादवले प्रदेश प्रमुख नतोकिँदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूची बुझाउने तथा प्रदेशसभा सदस्यले कसरी शपथ लिने भन्ने विषयमा समस्या उत्पन्न भएको बताए । उनले निर्वाचन आयोग संविधानअनुसार अगाडि बढिरहेकाले यसप्रति कुनै पनि किसिमको शंका नगर्न आग्रह गरे ।

आयुक्त यादवले राष्ट्रसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा पूर्ण नहुने भन्दै राष्ट्रसभाको निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि बढाइरहेकाले त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए ।(रासस)

प्रतिक्रिया दिनुहोस