राजकीय सम्मानका साथ गरियो मन्त्री अधिकारीको अन्त्येष्टि, मृत्यु संस्कार अब चार दिनमै सकिने

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, १७ : ४७
राजकीय सम्मानका साथ गरियो मन्त्री अधिकारीको अन्त्येष्टि, मृत्यु संस्कार अब चार दिनमै सकिने

पोखरा । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अन्त्येष्टि  गरिएको छ । शुक्रबार पोखराको रामघाटमा राजकीय सम्मानका साथ उनको दाहसंस्कार गरिएको हो । 

उनलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए । नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो ।  अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।
पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।

मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार भने अब चार दिनमै सकिने भएको छ । मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ । मृत्यु संस्कार घटाउने अभियान चलाउन उनले संस्कृति मन्त्रालयमार्फत समिति नै गठन गरेका थिए । आज तेस्रो दिन भएकाले उनको मृत्यु संस्कार अब चार दिनमा अर्थात २१ गते मंगलबार सकिनेछ ।

प्रतिक्रिया दिनुहोस