यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्तावमा विपक्षी दलहरूले संसदमै जनाए विरोध

सफल खबर संवाददाता

सोमबार, ०४ चैत्र २०८१, १२ : ३६
यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्तावमा विपक्षी दलहरूले संसदमै जनाए विरोध

काठमाडौँ । यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध भएको छ । सोमबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको बताएका छन् ।

‘हिजो सत्तापक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाएर मान्यता दिएर पर्यटकलाई आकर्षण गरेर अर्थोपाजन गरौँ भन्ने कुरा यस सम्मानित सदनमा उठाउनु आपत्तिजनक छ’, माओवादी केन्द्रकी सांसद दुर्गा राईले भनिन्, ‘यस्तो चिन्तनको घोर विरोध गर्दछु ।’

आकस्मिक समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपक सिंहले यस्तो प्रस्ताव आउनु गलत रहेको बताए । ‘‘यौन व्यवसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होइन ?’ उनले सरकारलाई प्रश्न गरे ।

नेपालमा पर्यटक भित्र्याउन र आर्थिक विकासका लागि धेरै सम्भावना रहेको उनले बताए । नेपाल प्राकृतिक रूपमा सुन्दर रहेको, जलस्रोतमा धनी रहेको स्मरण गर्दै उनले आर्थिक विकासका अनेकन सम्भावना रहेको ख्याल गर्न सुझाए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने बताएका थिए ।

धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो । ‘यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए ।

काँग्रेसको प्रमुख सचेतकको यस्तो भनाइको संसदमा विरोध भएको हो ।

प्रतिक्रिया दिनुहोस