राष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल तोकौँ : प्रकाश ज्वाला

सफल खबर संवाददाता

सोमबार, ०४ चैत्र २०८१, १२ : ३९
राष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल तोकौँ : प्रकाश ज्वाला

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राष्ट्रपति र प्रधानमन्त्री बन्नका लागि कार्यकाल तोक्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन नपाउने तयारीबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । पूर्वमन्त्री समेत रहेका ज्वालाले नेपाली नागरिकलाई परीक्षा दिने अवसरबाट वञ्चित गराउनुको सट्टा राजकीय पदहरूमा कार्यकाल तोक्नुपर्ने बताएका हुन् । 

‘राजनीतिक नियुक्ति कति पटक खान पाउने ? चुनाव कति पटक लड्न पाउने ?  सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति कति पटक हुन पाउने विषयमा बहस गरौंँ । मेरो विचारमा राष्ट्रपति एक पटक भए हुन्छ ।  प्रधानमन्त्री दुई पटक भए हुन्छ । मन्त्री र सांसद बढीमा तीन पटक गैरसांसद मन्त्री हुने व्यवस्था गरौँ । सत्ता सञ्चालनमा पटक पटक फेल हुनेलाई निषेध गरौँ । तर नेपाली भाइ बहिनी र राष्ट्रसेवक बन्ने अवसरबाट वञ्चित नगरौँ’, उनले भने । 

बैठकमा उनले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन रोक्नेगरी कानुनी व्यवस्था गरिन लागेको भए त्यो गलत हुने उनको भनाइ छ । ‘कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावना विपरीत छ । यसरी परीक्षाबाट वञ्चित गर्नु नेपाली युवाहरूलाई अझै खाडी र मलेसियातिर धकेल्नु हो’, उनले भने, ‘सरकारले रोजगारीको विकल्प पनि नदिने र परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्नु मौलिक अधिकारबाट वञ्चित गर्नु हो । त्यसकारण परीक्षा दिने उमेर भएसम्म परीक्षाा दिन पाउनु पर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस