सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो चितवनमा सुरु, नेपाल औषधिमा आत्मनिर्भर हुनैपर्ने मन्त्री यादवको भनाई

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, १४ : ३९
सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो चितवनमा सुरु, नेपाल औषधिमा आत्मनिर्भर हुनैपर्ने मन्त्री यादवको भनाई

भरतपुर । शुक्रबारदेखि चितवन एक्स्पो सेन्टरमा सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो २०१९  सुरु भएको छ । एक्स्पोको एक कार्यक्रमका बीच नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उद्घाटन गर्नुभयो । 
उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाल औषधिमा आत्मनिर्भर हुनै पर्ने बताउनुभयो । 
‘सरकार र उद्योग मन्त्रालयको सोच पनि यही छ, उहाँले भन्नुभयो,‘अब अन्य आन्दोलन होईन, उत्पादनको आन्दोलनमा लाग्नुहोस् । तपाईहरुको समस्या आफै समधान भएर जान्छ ।’
मन्त्री यादवले हाल केही प्रतिशत मात्र भएपनि औषधि निर्यात गर्नु शुभ संकेत रहेको बताउनुभयो । औषधिको क्षेत्रमा आत्मनिर्भर बन्न सरकार, व्यवसायी र कर्मचारीको एकता अपरिहार्य रहेको उहाँको भनाई छ ।
‘एकले अर्कालाई आरोप प्रत्यारोप गर्न भन्दा छलफलको मध्यमबाट समस्याको समधान खोजौँ, उहाँले भन्नुभयो,‘ ऐन कानुन निर्माण गर्दा आफुलाई मात्र फाईदा नहुने खालको मात्रै बनोस् भन्ने चाहानु हुँदैन् । यसबाट आम नागरिकलाई फाईदालाई मध्यनजर गर्दै बनाउनुपर्छ ।’ 
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष एवं देउराली जनता फर्मास्युटिकल्सका निर्देशक हरिभक्त शर्मा, नेपाल उद्योग वाणिज्य महांसघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो । 
नेपालमा उत्पादित औषधिको उत्पादन प्रविधि, संवेदनशिलताबारे सचेतना दिने एवं औषधि उत्पादनलाई अन्तर्रा्ष्ट्रिय स्तरमा पु¥याउंँदै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो । औषधि उत्पादक संघले आयोजना गरको ऐक्स्पो ३ दिनसम्म चल्ने छ ।
एक्स्पोका संयोजक जी. नारायण बहादुर क्षेत्रीले एक्स्पोमा नेपाली जनशक्तिलाई अन्तर्राष्ट्रिय स्तरको नवीन प्राविधिक ज्ञान प्राप्त हुने बताउनुभयो । उहाँका अनुसार एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीका साथै निजी क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहेको छ ।

एक्स्पोमा सामाजिक उत्तरदायित्व अन्तर्गत मरणोपरान्त अंगदानको अभियानलाई संस्थागत गरिने क्षेत्रीले बताउनु भयो । अंगदानको अभियानलाई संघले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँंग सहकार्य गरेको छ । एक्स्पो अवधिमा कम्तीमा १ हजार जनाले अंगदान गर्ने विश्वास लिइएको छ ।
काठमाडौं बाहिर पहिलोपटक चितवनमा हुन गइरहेको एक्स्पो ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको प्लाटिनम स्पोन्सरमा प्यासिफिक कमर्सियल कम्पनी, डाइमण्ड स्पोन्सरमा सन्साई फर्मा, एलम्याक टेक्नोलोजी र गोल्ड स्पोन्सरमा जीएमपी टेक्निकल सोलुसन, एनपीएम मेशिनरी, एजिलेन्ट टेक्नोलोजी र प्रुडेण्ट मेडिटेक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस