काठमाडौँ । सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार सार्वजनिक यातायात व्यवस्थापनका विषयमा समेत नीतिले समेट्ने छ । सापकोटाले भन्नुभयो, “नयाँ नीतिले सबै यातायात र त्यसका व्यवस्थापनमा कुन सरकारको भूमिका के हुनेछ भन्ने प्रष्ट पार्नेछ ।”
मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन वटा ऐनको संशोधनको समेत तयारी गरिहेको प्रवक्ता सापकोटाले बताउनुभयो । सार्वजनिक सडक ऐन, २०३१, यातायात व्यवस्था ऐन, २०४९ र सडक बोर्ड ऐन, २०५८ संशोधनको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ संरचनाअनुसार यातायात सेवा सञ्चालन र व्यवस्थापनका लागि नयाँ बन्ने व्यवस्थाले सहयोग गर्नेछ ।” (रासस)
प्रतिक्रिया दिनुहोस