विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्छ : सरोकारवाला

सफल खबर संवाददाता

शनिबार, ०५ माघ २०८१, १३ : ०७
विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्छ : सरोकारवाला

काठमाडौँ । विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विपद्पछि विभिन्न रोगहरु फैलिनसक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले विपद्का लागि पूर्वतयारी गर्दा स्वास्थ्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

बाढी, पहिरो, भूकम्पप लगायतका विपद्पछि विभिन्न खालका रोगहरु फैलिनसक्ने भएकाले समयमै ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । केही वर्षदेखि विपद्पछिको स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकी स्टार्ट फण्ड नेपालकी कार्यक्रम व्यवस्थापक प्रमिला सुवेदीले सरकारले विपद् पूर्वतयारीमा स्वास्थ्यलाई पनि सँगै लैजानुपर्ने आवश्यकता रहेको बताइन् । विपद्का बेलामा स्वास्थ्यलाई पनि प्राथमिकता दिनसके विपद्पछि फैलिनसक्ने रोगहरुबाट हुने क्षति कम गर्न सकिने बताइन् । स्टार्ट फण्ड नेपालले २०२१ देखि विभिन्न प्रकोपको पूर्वानुमानमा आधारित भइ पूर्वकार्य र प्रतिकार्य गर्दै आएको छ । जसमा स्वास्थ्य क्षेत्रमा पनि केही कामहरु गरेको उनले बताइन् ।

डेंगुपश्चातको प्रतिकार्य लगायतका विपद्पछिको स्वास्थ्यका क्षेत्रमा पनि काम गरिसकेको बताइन् । स्टार्ट नेटवर्कको फरवार्नमार्फत स्टार्ट फण्डले आयोजना गरेको कार्यक्रममा ३० वटा संस्थाबाट ४० जनाले प्रतिनिधिले भाग लिएका थिए ।  उनले भनिन्, ‘हामीले २०२१ सालदेखि काम गर्दै आएका छौँ । डिजास्टरपछि हुने हेल्थका इस्युहरुबारे हामीले काम गर्दछौँ । बाढी, पहिरो, भूकम्पपछिको स्वास्थ्यमा हामीले काम गर्दछौँ । कोल्ड वेब, हिट वेब, डेंगु लगायतमा हामीले काम गर्दै आएका छौँ । डिजास्टरको बेलामा नेपालमा हामीले विगतको अनुभवलाई हेर्दा के पायौँ भने हेल्थलाई अलिकति इग्नोर गरेको पायौँ । त्यति धेरै सँगसँगै लैजान नसकेको पायौँ । हेल्थलाई पनि प्रायोटाइज गर्नुपर्छ  भन्ने हाम्रो आग्रह हो ।

यता, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्शनका कार्यकारी निर्देशक सुरज गौतमले नेपाल बहुप्रकोपिय जोखिममा रहेको भन्दै पछिल्लो समय विभिन्न प्रकोपहरु विपद्मा परिणत भइरहेको बताए । उनले बाढी, पहिरो लगायतका विपद्जन्य घटनाहरुको पूर्वतयारी गर्दा स्वास्थ्यको तयारी पनि गर्नुपर्ने बताए । उनले विपद्पछि फैलिनसक्ने रोगहरुको न्युनिकरण गर्न स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, ‘नेपालको अवस्था हेर्ने हो भने नेपालमा बहुप्रकोपिय जोखिम छ । पछिल्लो समय विभिन्न किसिमका प्रकोप विपद्मा परिणत भइरहेको छ । यसै वर्ष मात्रै आरिघोप्टे वर्षातदेखि लिएर काठमाडौंदेखि नेपालभर नै बाढी आयो । समग्र विपद्मा बाढी, पहिरो मात्रै नभइ त्यससँग सम्बन्धित रहने स्वास्थ्यसँग सम्बन्धित रहने विशेष विभिन्न प्रकारका रोगदेखि लिएर अन्य पाटोमा अझ बढी काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ 

गौतमले भने, ‘विपद् आइसकेपछि काम गर्ने भन्दा पनि पूर्वतयारी राम्रोसँग गरे यस्त जोखिम घटाउन सक्छौँ । राष्ट्रिय आपत्कालीन केन्द्रहरुमा पनि यो चिजहरुको इन्टिग्रेसन हुन आवश्यक छ । विभिन्न प्रकारका ५२ रोगहरुको बारेमा हामीले हाजार्ड प्रायोटाइजेशन गरिसकेका छौँ भने यस्ता प्रकारका रोगहरु विपद्पछि कसरी हुनसक्छ । यस्ता किसिमका रोगका लागि पूर्वतयारी कसरी गर्नुपर्छ भन्ने सन्दर्भमा यो कार्यशालामा जानकारी प्राप्त गरेका छौँ । विपद्का तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानुपर्छ । विभिन्न प्रकारका रोगहरु केही स्थानमा मात्रै सिमित हुन्थे भने अहिले देशभर नै डेंगु लगायतका रोगहरुको संक्रमण हुन थालेको छ । जलवायु परिर्वतनसँग सम्बन्धित रहेर यि रोगहरु फैलिरहेको छ ।’

कार्यकारी निर्देशक गौतमले जलवायु परिवर्तनका कारण तराईमा मात्रै सिमित हुने रोगहरु बिस्तारै पहाड र हिमालतिर पुगिरहेको अवस्थालाई मध्यनजर गरेर सरकारले आफ्ना योजनाहरु अघि बढाउन जरुरी रहेको बताए । विपद्का तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानसके रोगबाट नागरिकलाई सुरक्षित राख्न सकिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस