काठमाडौँ । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर थापाले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी बढाउन विश्व ऊर्जा परिषद्लाई आग्रह गरेको छ ।
परिषद्का लागि स्थायी प्रतिनिधिसमेत रहेका डा. थापाले सो परिषद्का महासचिव क्रिस्टोफ फ्रेइसँग बुधबार लण्डनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै सो आग्रह गरेको हो ।
शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकका राजनीतिक स्थिरता कायम भइसकेको भन्दै राजदूत थापाले सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहने भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न परिषद्लाई आग्रह गरेको हो ।
नेपालको जलविद्युत् क्षमतालाई आर्थिक विकासको मेरुदण्डका रुपमा लगानी र सहभागिता बढाउन तथा विश्व ऊर्जा समुदायमा नेपालको उपस्थिति जनाउन सरकारकोतर्फबाट आफूले सक्रिय सहभागिता जनाउने बताएको लण्डनस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परिषद्को स्थायी प्रतिनिधिमा डा सुवेदी नियुक्त भएकामा महासचिव फेइले नेपालको सक्रिय र सार्थक सहभागिताका लागि अनुरोध गरेको छ ।
नेपालको आर्थिक विकासका लागि ऊर्जाको विकास अपरिहार्य रहेको बताउँदै उनले भूकम्प र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित नेपालले त्यसको पुनः निर्माणका साथसाथै ऊर्जाको दिगो विकासमा ध्यान केन्द्रित गर्नुपर्ने र यसका लागि आफ्नो र परिषद्को आवश्यक सहयोग रहने धारणा व्यक्त गरे ।
राजदूत डा. सुवेदीले महासचिव फेइलाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २७ पुस २०७४, २० : ४०
लेखकबाट थप