काठमाडौँ । मिस नेपाल २०१८ को उपाधि जितेसँगै चर्चामा छिन् श्रृङखला खतिवडा । अझ भनौँ चीनमा आयोजना भएको ‘मिस वर्ल्ड’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै टप १२ को उपाधि प्राप्त गरेपछि उनी स्वदेश तथा विदेशमा चर्चामा रहिन् ।
खतिवडाले चीनको सान्यामा हालै सम्पन्न ‘मिस वर्ल्ड’ मा टप १२ मा पुग्नुका साथै ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पोज’ जस्ता दुई महत्वपूर्ण उपाधि नेपाल ल्याउन सफल भइन् । यो उपाधि ‘मिस वल्र्ड’बाट नेपालले अहिलेसम्म पाएको थिए । ‘मिस नेपाल २०१८’ की शीर्ष उपाधि विजेता श्रृङखलाको मिस वर्ल्ड यात्रा र आगामी दिनको योजनाका बारेमा उनकै शब्दमा ।
मिस वल्र्डको यात्रा निकै रमाइलो र अर्थपूर्ण थियो । संसारभरिका उत्कृष्ट सुन्दरीको जम्घट । यो बीचमा मैले धेरै जना साथीहरु बनाए । धेरै कुरा सिके । सबैभन्दा महत्त्वपूर्ण कुरा त, धेरै माया समेत पाए । यसका लागि आफूलाई निकै भाग्यशाली ठान्छु ।
प्रतियोगितामा म आफू भएर आफ्ना नामका लागि गएको थिइनँ । नेपालको झण्डा बोकेर, सबै नेपालीको प्रतिनिधित्व गर्दै गएकी थिएँ । सायद त्यसैले पनि होला, त्यहाँ कसैले पनि मलाई नामले बोलाउनु हुँदैन थियो । नेपाल भनेर बोलाउनु हुन्थ्यो । यसरी बोलाउँदा गर्व लाग्थ्यो । पूरै नेपाललाई विश्वमा चिनाउँदैछु भनेर खुसी लाग्यो ।
म धेरै भाग्यमानी छु । कार्यक्रममा मैले नेपाली भाषा बोलेकी थिएँ । सबैको ध्यान मतिर खिचिएछ । यो योजनाबद्ध त थिएन, संयोग भनौँ या के भनौँ मिस नेपाल भएपछिको पहिलो अन्तरवार्ता पनि नेपालीमा दिएकी थिएँ ।
मिस वर्ल्डमा मैले नेपालको एउटा सुन्दर परिचयात्मक भिडियो प्रस्तुत गरेकी थिएँ । त्यसमा देखाइएका विषयवस्तुले धेरैको मन जित्यो । नेपालमा पनि यसको प्रभाव परेछ । मिस वर्ल्डमा दिएको प्रस्तुतिका कारण म भाइरल भएछु । यो मैले सौच्दे नसोचेको कुरा हो ।
उपाधि जित्छु भन्ने मनसायले मिस वर्ल्डमा गएकी थिएँ । जित्नुपर्छ भन्दा पनि मलाई जित्न सक्छु भन्ने विश्वास थियो । नेपालबाट पाएको माया र साथले प्रतियोगिताको अत्यसम्म पुग्दा त्यो आत्मविश्वास बलियो हँुदै गइरहेको थियो । अर्काे कुरो, विश्वभरी सौन्दर्य प्रतियोगिता फलो गर्नेहरूको लिस्टमा समेत म टप थ्रीमा परेकी थिएँ ।
यो लिस्टले गर्दा विश्वले नेपालप्रति चासो देखाएको थाहा पाएँ । नेपालले पनि सौन्दर्य प्रतियोगिता जित्नसक्छ भनेर विश्वास सबैले राखेको भान भयो । उत्कृष्ट पाँचभित्र पर्न भने सकिनँ तर पनि रित्तो हात भने फर्किनँ ।
मुख्य मानिएका दुई उपाधि ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पोज’ लिएर नेपाल फर्किएँ । अर्काे कुरा म उत्कृष्ट १२ मा मात्र सीमित भए पनि नेपालको उचाइ धेरै बनाएँ जस्तो लाग्छ । अबका वर्षमा प्रतियोगीले नेपाल चिनाइरहनु पर्दैन भन्ने मेरो बुझाइ हो ।
शीर्ष उपाधि जित्न नसके पनि धेरै दुःख लागेको छैन । प्रतियोगितामा मैले गर्न सक्ने गरेकी थिएँ । आफ्नो तर्फबाट बेस्ट दिएकै हो । हरेक दिन विश्राम नै नगरी लागिपरेकी थिएँ ।
उपाधि जित्न नसकेपछि धेरै रोइहोली, दुःख मानिरहेकी होली भनेर परिवारले समेत अनुमान गर्नुभएको रहेछ । तर त्यो हार सजिलै स्वीकारेँ । मैले जित्न नसके पनि आगामी दिनका मिस नेपालले जित्न सक्छन्, मलाई विश्वास छ ।
त्यो सहभागीले मिस नेपाल एउटा वर्ग, समुदाय र ठाउँको होइन, पूरै नेपालको हो भनेर बुझ्नु पर्यो । आत्मविश्वसका साथ नेपालका लागि ताज दिलाउँछु भन्दै सहभागी हुनु पर्यो ।
म टप १२ भित्र पुगेँ । टप ५ मा पनि पर्थें होला । प्रतियोगिताको फम्र्याट पहिलेभन्दा अहिले केही चेन्ज भएको रहेछ । यसले पनि केही अप्ठ्यारो पर्यो । अबका लागि बाटो खुलिसकेको छ । अबका मिस नेपालको लक्ष्य मिस वर्ल्डको ताजतिर रहनु पर्यो, ताज जित्न हामी सक्षम छौँ ।
म अविकसित देशको प्रतिनिधि, विभेद भोग्नुपर्छ कि भन्ने मिस वर्ल्डमा सहभागी हुँदैगर्दा मनमा एउटा डर थियो । अन्य प्रतियोगीसँग कुममा कुम मिलाएर उभिन्छु भन्ने मनमा कन्फिडेन्ट त थियो, त्यस्तै भयो । सबैसँग राम्रो दोस्ती जम्यो ।
उपाधि जित्ने मेक्सिकोकी प्रतियोगीले फाइनलको रात म भएको ठाउँमा आएर भनिन्, ‘नेपाल, कि तिमीले जित्छौ, कि मैले जित्छु भन्ने म ढुक्क थिएँ । तिमी टप ५ मा नआएपछि मेरो कन्फिडेन्ट झन् बढेको थियो । मैले प्रतिस्पर्धी तिमीलाई मात्र देखाएकी थिएँ ।’
प्रतियोगितामा नेपाल देश नचिन्ने धेरै सहभागी थिए । मैले सगरमाथाको देश भनेर चिनाउँथे । जवाफमा उनीहरू तिमीले पनि सगरमाथा चढेकी छौ ? भन्ने गर्दथे । हाम्रो देश विश्वका अरू मुलुकमा अझै राम्रोसँग चिनिएको रहेन छ भन्ने मलाई आभास भयो ।
प्रतियोगिता सकिने समयसँग म सबैसँग निकै नजिकिएकी थिएँ । त्यसैले फर्कने बेलामा मन भारी भएर आयो । सबैसँग बिताएको पल, मायालु त्यो क्षण जो थियो, त्यो अहिले पनि याद आउँछ ।
मैले मिस नेपालको ताज लगाएपछि राजनीतिसँग जोडेर धेरै चर्चा परिचर्चा भए । सबैको जानकारी भए पनि यस विषयमा म कहिल्यै सिरियस भइनँ । क्रिटिक्स गर्ने केहीले राजनीतिक पावर लगाएर जितीसमेत भने । प्रधामन्त्रीकै छोरी भए पनि प्रतियोगितामा केही फरक पर्दैन थियो ।
सो समय मेरो पारिवारिक पृष्ठभूमि जोडेर चर्चा गरिनु ठीक लागेको थिएन । किनभने हाम्रो परिवारमा आफ्नो निणर्य गर्ने अधिकार आफैमा छ । घरबाट कुनै हस्तक्षप हुँदैन । मिस नेपाल मेरो इच्छा थियो । राजनीतिसँग जोडिँदा खल्लो लाग्यो ।
मिस वर्ल्ड जिताउने देशमा चलेको लहरको म पूरै जानकार थिएँ । प्रत्यक्ष नदेखेकाले शत प्रतिशत हो होइन भन्ने थियो । तर जुन हिसाबमा फेसबुकमा लाइक बढिरहेको थियो, प्रतियोगितामा भोटिङ आइरहेको थियो, फलोअर्स बढिरहेका देखिन्थ्यो त्यो हेर्दा लहर चलेको रहेछ ।
घरमा फोन गर्दा आमाले छोरी तिमी जाँदा कस्तो थियो, अहिले कस्तो भइसकेको छ, तिमीलाई थाहा नै छैन । यहाँ त घरघरमा तिम्रो चर्चा हुन्छ । तिमी त धेरै फेमस भइसक्यौ भन्नुहुन्थ्यो । यो सुन्दा अझ दायित्व बढेको भान हुन्थ्यो । मैले उपाधि जित्नैपर्ने प्रेसर फिल भयो । एक दिन त्यसले पनि मलाई डाउन फिल गरायो ।
प्रतियोगिताको भेटिङमा म धेरै अगाडि थिएँ, त्यो आयोजकलाई पनि थाहा थियो । तर आयोजक भएको हिसाबले उहाँले प्रत्यक्ष रूपमा तारिफ गर्न मिल्दैन थियो ।
प्रतियोगिताको एपका निर्माणकर्ताले आएर मलाई धन्यवाद भन्नुभयो । ‘यो चार वर्ष यति धेरै डाउनलोड भएको थिएन । तिमीले गर्दा हाम्रो मिहिनेत सफल भयो ।’ ‘एप स्टोरमा नेपालको कारणले हामी टपमा छौँ । नेपाललाई थ्याङ्क्यु भनिदेऊ’ उहाँले भन्नुभएको शब्द हो यो । भोटिङ थेग्न नसकेर सर्बर नै डाउन भएको थियो ।
भोट धेरै आएको देख्दा सहपाठीले अर्बांैको जनसङ्ख्या भएको देश हो तिम्रो ? भनेर समेत सोध्थे । आयोजकले पनि यति धेरै लाइक र भोट मिस वर्ल्डको इतिहासमा पहिलो पटक हो समेत भने ।
मिस नेपाल र मिस वर्ल्डको छनौट प्रक्रियामा मैले खासै भिन्न देखिनँ । मिस नेपालले पनि मिस वर्ल्डको फम्र्याट फलो गर्ने भएकाले फरक नलागेको होला । मिस नेपालमा नेपाली नै प्रतिस्पर्धी थिए, मिस वर्ल्डमा धेरै देशका प्रतिनिधि । फरक यति मात्र ।
सिक्ने कुराहरू भने धेरै थिए । विभिन्न देशका कलासंस्कृति, भोषभुषा, भाषा, बेग्लै देशमा वातावरण, त्यहीअनुसार हुर्किएका मानिस र उनीहरूको शैली सबै सिक्न पाएँ । तर यी सबै फरक जम्मा दुई दिनका लागि रहेछ । तेस्रो दिनपछि हामी प्रतिस्पर्धी देख्दो रहेछौँ ।
मिस वर्ल्डबाट फर्किएपछि ममा धेरै परिवर्तन पाएँ । पहिलो कुरा जानुभन्दा अगाडि र फर्किएपछिको पपुलारिटीमा आकाश जमिनको फरक छ । अर्काे कुरा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नेपाल चिनाएर आउनुको फिलिङ नै बेग्लै हँुदो रहेछ । म त्यो बयान गर्न सक्दिनँ ।
एक हिसाबले नेपाल र नेपालीप्रति गर्व लाग्यो । अर्काे कुरो धेरै सिकेर आएँ । सबैभन्दा ठूलो परिवर्तन केही गर्नुपर्छ । जिम्मेवारी अझ धेरै थपिएको छ भनेर मभित्रै आगो बल्यो ।
विश्वभरीका प्रगतिशील र नारीवादीहरूले सुन्दरी प्रतियोगिताले महिलाको सुन्दरताको अवमूल्यन गरेको भन्ने आरोप लगाउने गरेका छन् । तर मलाई त्यो लाग्दैन । मैले मिस नेपालमा भाग लिएदेखि अहिलेसम्म सौन्दर्य प्रतियोगिताबाट पोजेटिभ कुरा मात्र महशुस गरेकी छु ।
कुनै पनि कोणबाट मैले आफ्नो सुन्दरता बेचेकी छु जस्तो लागेको छैन । आफ्नो छाला देखाएर प्रचार गरेको छु भन्ने पनि लाग्दैन । महिलाले आफ्नो निर्णय लिन सक्ने क्षमता भनेकै ‘वुमन इम्पावरमेन्ट’ हो । यसलाई पछ्याउँदै यति धेरै नारीहरूले सौन्दर्य प्रतियोगितामा भाग लिइरहेका छन् । यसमा सबैले सपोर्ट गर्नुपर्ने हो ।
आफ्नो देशको नाम बोकेर महिलाले विश्वमा गएर चिनाउँछन् भने त्यो जतिको ठूलो र राम्रो कार्य के होला । सुन्दरी प्रतियोगिता सुन्दरता बेच्नेभन्दा पनि त्यसको उपयोग गर्ने भन्न रुचाउँछु म ।
सुन्दरी प्रतियोगिताले अहिले नारी सशक्तिकरणलाई सघाएको छ । म अहिले धेरै कन्फिडेन्ट छु । सायद एक वर्ष अगाडि मैले मिस वर्ल्ड प्रतियोगिता हेर्थें भने त्यो स्टेजमा आफूलाई देख्न सक्दिन थिएँ । किनभने ममा त्यो कन्फिडेन्स हुँदैन थियो ।
मिडियामा बोल्न सक्ने खुबी आउँदैन थियो । भीडमा उभिँदा पनि आफ्नो अलग पहिचान बनाउन सक्ने खुबी विकास हुँदैन थियो । मिस नेपालको ट्रेडिङदेखि मिस वर्ल्डसम्मको यात्राले ममा यो कन्फिडेन्ट ल्याएको हो । म देशभरी परिचित भए । मेरो आवाज बुलन्द बन्यो । मिस नेपाल भएपछि धेरै बाटोहरू खुलेका छन् ।
देशमा चोरी र बलात्कारका कानुन पहिलेदेखि नै थिए । तर मिडिया भन्ने कुरो हाम्रा लागि नयाँ भयो । नेपालमा अनलाइन मिडिया र इन्टरनेट एक्सेस धेरै पछि भित्रियो । यसलाई नेपालको कानुनले भेट्टाउन सकेको छैन ।
मानिसहरू एकअर्काेसँग बोल्दा धेरै पटक सोच्ने गर्छन् । तर कम्युटरको अगाडि बसेर केही भन्न र लेख्न सोच्न छाडे ।
यसको एउटा उदाहरण अनलाइन मिडिया र युट्युव टीभीमा आउने जथाभावी समाचार पनि हो । हामीले मिडियालाई आँखा चिम्लेर विश्वास गर्नुपर्ने स्थित हुनुपर्ने हो । तर अहिले अनलाइन समाचार आधारहीन भएका छन् ।
एउटा समाचारको सत्यता थाहा पाउन १० वटा अनलाइन पढ्नुपर्छ । च्याउसरी उम्रिएका अनलाइन मिडियाले पत्रकारिताको बेसिक नलेजसमेत फलो गरेको देखिन्न ।
समाचारमा सत्यता भेटिन्न । हेडलाइन क्लिकका लागि बनाइन्छ । यसले मानिसको बदनाम गरिरहेको छ । यसका कारण केही सेलिब्रेटीले सोसल मिडिया छोडेको पनि देखेकी छु । उहाँहरू केही डिप्रेसनमा पनि पुगेका छन् ।
मेरो अहिले नै राजनीतिमा आउने सोच छैन, भविष्यमा आउन सक्छु । एक वर्ष अगाडि नेपालको राजनीतिबाट म निकै आशावादी थिए । पछिल्लो चुनावबाट बनेको अहिले जस्तो बलियो सरकार नेपालको राजनीतिमा कहिल्यै थिएन प्रजातन्त्र आएपछि । तर काम सोचे अनुरुप भएका छैनन् । अन्यौलमा मात्र हामी घेरियौँ । यसकारण अहिलेका युवाले राजनीति फोहोरी खेल भनेर चासो दिन छाडिसके । यस्तो अवस्थामा हामी युवाले दबाब दिनुपर्छ, चासो देखाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस