निर्मला हत्याकाण्डको विषयमा बन्यो चलचित्र ‘कोपिला’

सफल खबर संवाददाता

सोमबार, ३० पुस २०७५, १४ : २५
निर्मला हत्याकाण्डको विषयमा बन्यो चलचित्र ‘कोपिला’

चितवन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर अब नेपाली कथानक चलचित्र निर्माण हुने भएको छ । 
कलावती फिल्मस् प्रोडक्सन प्रालिले निर्मला पन्तको हत्याकाण्डको विषयलाई पर्दामा उतार्न लागेको हो । चलचित्रको नाम ‘कोपिला रहेको छ । कलावती फिल्मस्ले आज भरतपुरमा पत्रकार सम्मेलन गरी चलचित्र ‘कोपिला’को छायांकन सकिएको जनाएको छ । 
निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा राजनैतिक चलखेल र सामाजिक मनोवैज्ञानिक र निर्मलाको परिवारको मनोवैज्ञानिक परिस्थितिलाई चलचित्रले चित्रण गरेको लेखन तथा निर्देशक शिवम् अधिकारीले जानकारी दिनुभयो । चलचित्रको प्रमुख पात्र निर्मलाको भूमिकामा सञ्जीवनी खरेलले अभिनय गर्नुभएको छ । चलचित्रमा उनको नाम ‘कोपिला’ रहेको छ । चितवन र यसको सेरोफेरोमा ३० दिन लगाएर सुटिङ गरिएको निर्देशक अधिकारीले बताउनुभयो । 
‘चलचित्रमा निर्मला हत्याकाण्डको हालसम्मको अवस्था उतारिएको छ, घटनाको पूरा निष्कर्ष पर्दामा देख्न सकिन्नँ’ निर्देशक अधिकारीले बताउनुभयो । उहाँले निर्मलाको परिवारले हालसम्म न्याय नपाएको अवस्था पनि चलचित्रमा देख्न पाइने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘भोलि निर्मलाका हत्यारा पत्ता लागे पनि चलचित्रका दृष्यहरुलाई काट्ने वा थप्ने हुँदैन । यसमा समग्र बालिका र नारीमाथि भएका हिंसा, बलात्कारलगायतका घृणित पक्षलाई उजागर गरिएको छ ।’ 
चलचित्रकी कलाकार सरिता गिरिले केही पुरुषबाट महिलमाथि भएका अन्यायलाई चलचित्रले प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरुष मानसिकता परिवर्तन हुनुपर्छ ।’ चलचित्रले निर्मलाको घटनाको मात्र चित्रण नगरी समग्र नारीमाथि हुने हिंसा र थिचोमिचोको चित्रण गरेको उहाँको भनाइ छ । 
चलचित्रमा सञ्चारकर्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् । चलचित्रमा गणेश गिरीको प्रस्तुति रहेको छ । चलचित्रमा सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, बिमल पौडेल, भोला सुवेदी, रामेश्वर रिजाल, शर्मिला खरेल, अशोक रिजाल, मेनुका ढुंगानालगायतले अभिनय गरेका छन् । 
चलचित्रमा बाल कलाकार सञ्जीवनी खरेल, शिया आचार्य, जुनिपर पौडेल, राखी क्षेत्री, प्रिस्कीला क्षेत्री, गरिमा ढुंगाना रहेका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, सम्पादन तथा एनिमेसन समिर मियाको छ ।  

प्रतिक्रिया दिनुहोस