आइतबार निधन भएका डा बाबुराम पोखरेलको आज अन्त्येष्टि गरिँदै

रासस

मंगलबार, २५ पुस २०७४, १५ : ३०
आइतबार निधन भएका डा बाबुराम पोखरेलको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । आइतबार निधन भएका पूर्व सभासद एवं शिक्षासेवी डा बाबुराम पोखरेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।

डा पोखरेलका एक छोरा विदेशबाट आउन समय लागेकाले आज मात्र अन्त्येष्टि गरिन लागिएको हो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्वअध्यक्ष पोखरेलको हृदयघातका कारण पुस २३ गते निधन भएको थियो।

अन्त्येष्टिका लागि मीनभवनस्थित भीएस निकेतन उच्चमावि परिसरबाट शवयात्रा सुरु भएको छ।

यसअघि पोखरेलप्रति उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, नेकपा एमालेका नेता माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवास नेम्वाङ, त्रिविका उपकुलपति डा तीर्थराज खनियाँ लगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

डा पोखरेल दोस्रो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट समानुपातिकतर्फबाट सभासद भएका थिए। उनका श्रीमती र दुई छोरा छन्। (रासस)

प्रतिक्रिया दिनुहोस