स्मार्ट सिटी बनाउन तथ्यांक संकलन गर्दै भरतपुर महानगर

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०७५, १७ : ०५
स्मार्ट सिटी बनाउन तथ्यांक संकलन गर्दै भरतपुर महानगर

चितवन । भरतपुर महानगरले स्मार्ट सिटी बनाउन तथ्यांक संकलन गर्न सुरु गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्ट सिटी बनाउन तथ्यांक संकलन गर्ने काम सुरु भएको बताउनुभएको छ । 
भरतपुर महानगरपालिका स्मार्ट सिटी गुरुयोजना तयारी परियोजना घरधुरी सर्वेक्षण गणक तालिम समापन समारोहमा महानगर प्रमुख दाहालले भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउन जग खन्ने काम भएको बताउनुभयो । समारोहमा प्रमुख अतिथि रहनुभएकी महानगर प्रमुख दाहालले घरधुरी सर्वेक्षण गणकहरुलाई सत्यतथ्य तथ्यांक संकलन गर्न निर्देशन दिँदै भन्नुभयो, ‘आजबाटै भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने गृहकार्य सुरु भएको छ, स्मार्ट सिटी बनाउन तपाइँहरुको महत्वपूर्ण भूमिका छ, जिम्मेवारी भएर लाग्नूस् ।’

स्मार्ट सिटी बनाउनको वास्तविक तथ्यांक लिन भरतपुर महानगरले १०५ जना गणकहरुलाई आजबाट फिल्डमा खटाएको छ । सीटु टेक कन्सल्ट काठमाडौँले १०५ जना गणकहरुलाई ५ दिनको तालिम दिएको हो । तालिको समापन कार्यक्रममा महानगर प्रमुख दाहालले महानगर आजभन्दा २० वर्षपछिको गुरुयोजना बनाएर विकासमा होमिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यसभन्दा अघि कुरामा मात्र सिमित भएको स्मार्ट सिटीको अवधारणा अब प्रारम्भ भएको छ ।’ उहाँले भरतपुरलाई विश्वले नजिकबाट हेरिरहेको हुनाले दायाँबायाँ गर्ने छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउन काम अगाडि बढेको छ ।’ 
तालिम समापन कार्यक्रममा भरतपुर महानगरपालिकाकी आर्किटेक इन्जिनियर अस्मिता खनालले देशको १० वटा सहरलाई स्मार्ट सिटी बनाउने अवधारणाअनुसार भरतपुर महानगर पनि स्मार्ट सिटी निर्माणमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्मार्ट सिटीमा सबै कुरा स्मार्ट हुनुपर्छ, त्यो अनुरुप महानगरले गृहकार्य सुरु गरेको छ ।’
फोकल पर्सनसमेत रहनुभएकी खनालले भरतपुर महानगरले स्मार्ट सिटीको अवधारणालाई साकार पार्न गृहकार्य प्रारम्भ गरेको बताउनुभयो । उहाँले सबै गणकहरुलाई वास्तविक तथ्यांक लिन निर्देशन दिनुभएको थियो । 
कार्यक्रमको अध्यक्षता गरेका वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्मार्ट सिटीको खुड्किलो खन्ने काम सुरु भएको बताउनुभयो । १०५ जना गणकहरुले २ महिनाको अवधिमा घरधुरी सर्वेक्षण गरिसक्ने सर्वेक्षणका संयोजक वीर्ख क्षेत्रीले जानकारी दिनुभयो । सोही घरधुरीको सर्वेक्षणअनुसार प्रतिवेदन तयार पारेर स्मार्ट सिटीका योजनाहरु अघि बढ्ने वडाध्यक्ष काफ्लेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस