स्वच्छ वातावरण महाअभियानको गोष्ठी भरतपुरमा : हरित पार्क निर्माणको सम्झौता

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०७५, १६ : ४०
स्वच्छ वातावरण महाअभियानको गोष्ठी भरतपुरमा : हरित पार्क निर्माणको सम्झौता

चितवन । वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच आज हरितपार्क निर्माण गर्ने सम्झौता भएको छ । 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच भएको हरित पार्क निर्माणको सम्झौताले भरतपुर महानगरलाई हरियाली बनाउने अपेक्षा गर्नुभएको थियो । 
आज भरतपुर महानगरपालिकामा नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ तथा उद्योग प्रतिष्ठानको वातावरणीय अनुगमनसम्बन्धी ३ नं प्रदेशको अभिमुखीकरण कार्यशाला गोष्ठीमा प्रमुख अतिथि समेत रहनुभएकी महानगर प्रमुख दाहालले सरसफाइमा महानगर नमुना बन्दै गइरहेको बताउनुभएको छ । भरतपुर महानगरले सरसफाइका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताउनुभयो । 
कार्यक्रममा उहाँले महानगरले नदी किनार र राजमार्गको सरसफाइलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फोहोर बढी गर्ने गुट्का नियन्त्रण गर्न लागिपरेका छौँ, तर एकैचोटी नियन्त्रण हुन सकिरहेको छैन ।’ कार्यक्रममा उहाँले सार्वजनिक स्थल, विद्यालय, अस्पतालको एक सय मिटर वरपर गुट्का बेच्न प्रतिबन्ध गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले सडकमा फोहोर फाल्नेलाई जरिबाना लगाएको र त्यसको २५ प्रतिशत सूचना दिनेलाई पुरस्कार दिने निर्णय गरेको बताउनुभयो । महानगर प्रमुख दाहालले भन्नुभयो । उहाँले नीति नियम राम्रो भएरमात्र नहुने र त्यसको कार्यान्वयन पक्ष नै ठूलो कुरो भएको बताउनुभयो । 
हरित पार्क निर्माणको सम्झौतापत्रमा विभागका महानिर्देशक झलकराम अधिकारी र भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् । ‘हरितपार्क निर्माण गर्ने सम्झौता भयो, तर कहाँ कति जग्गामा हरितपार्क निर्माण गर्ने विषय छलफलमै रहेको छ’ महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताउनुभयो । उहाँको अनुसार १५ वर्षको लागि हरितपार्क निर्माण गर्ने सम्झौता भएको हो । 
कार्यक्रमको अध्यक्षता गर्नुभएका वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले कार्यक्रममा उपस्थित वक्ताहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी, वन तथा वातावरण मन्त्रालयका सहसचिव रघुनाथ पराजुली, विभागका प्राविधिक उपसचिव शंकरप्रसाद पौडेलले सरसफाइसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा प्रदेश ३ का विभिन्न नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो । वातावरण विभागले नेपाल स्वच्छ वातावरण महाअभियानको दोस्रो संस्करणको कार्यशाला भरतपुर महानगरमा गरेको हो । 
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, विदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डित, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानालगायतले मन्तव्य दिएका थिए । 


 

प्रतिक्रिया दिनुहोस