चितवन । चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा जिल्लाबाट ४० जना महिला बेपत्ता भएका छन् ।
साउनदेखि मंसिरसम्म हराएका १ सय २९ जना महिलामध्ये ८९ जनामात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलले जनाएको छ । पाँच महिनाको अवधिमा ३० जना बालक, ५८ जना बालिका र ९२ जना पुरुष हराएका थिए । जसमध्ये २४ जना बालक, ५३ जना बालिका र ५८ जना पुरुष भेटिएका छन् ।
जिल्लाबाट अघिल्लो आर्थिक बर्षमा ३ सय २० जना महिला हराएका थिए । तीमध्ये २ सय ७३ जना महिला फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनकी महिला सेल प्रमुख कल्पना पौडेलका अनुसार ४६ जना महिला बेपत्ता छन् । कार्यालयको तथ्याङ्क अनुसार हराएका ४४ जना बालक र ८५ जना बालिका सबै फेला परेका छन् । हराएका १ सय ५ जना पुरुषमध्ये ७३ जना फेला परेका थिए ।
आर्थिक बर्ष २०७३/७४ मा एक सय ७ जना महिला बेपत्ता भएका छन् । हराएका २ सय ९० जना महिलामध्ये १ सय ८३ जना मात्रै भेटिएका छन् । हराएका ३२ जना बालक र ६३ जना बालिका सबै भेटिएका छन् । पुरुष ३८ जना हराएकोमा २७ जना फेला परेका छन् ।
यसरी हराएर नभेटिएकाहरुमध्ये महिलाहरु परपुरुषसँग बिहे गरी घरजम गरेको, बालबच्चा जन्माएर बसेको अवस्थामा भेटाइएको सेल प्रमुख पौडेल बताउनु हुन्छ । व्यक्तिगत स्वतन्त्रता, घरायसी कलह, श्रीमानसँगको सम्बन्ध नराम्रो भएका महिला बढी हराउने गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले महिला सेलामा दर्ता गरेका मोबाईल नम्बरहरु २/४ महिनामा स्वीच अफ हुने भएकाले फेला परेका व्यक्तिको बारेमा जानकारी लिन समस्या भएको बताउनुभयो । फेला परिसकेपछि निवेदन दिएका आफन्तले प्रहरी कार्यालयमा जानकारी नगराउँदा बपत्ताको संख्या वृद्धि भएको देखिएकोे रेग्मी बताउनु हुन्छ ।
दश दिनमा २२ जना हराए
पुस लागेयता चितवनमा १० दिनमा २२ जना हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जसमा १० जना महिला, ४ जना पुरुष, ४ जना बालक र ६ जना बालिका रहेका छन् । तीमध्ये ४ जना महिलामात्र फेला परेको महिला सेल प्रमुख पौडेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०७५, १६ : १९
लेखकबाट थप