सौराहाका बालकको अर्को करामत : ‘न मानामा नापिन्छ माया, न तुलोमा’

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०७५, १२ : १८
सौराहाका बालकको अर्को करामत : ‘न मानामा नापिन्छ माया, न तुलोमा’

चितवन । चितवनको सौराहाका ११ वर्षका बालक प्रिन्स सिलवालको करामत जोकोहीलाई पत्यार लाग्न नसक्ने खालको छ । उनी ११ वर्षकै उमेरमा गायनी कलामा छलाङ मार्दै गइरहेका छन् । 
उनको पहिलो म्यूजिक भिडियो बजारमा आइसकेको छ भने दोस्रो म्यूजिक भिडियो छायांकन सुरु भइसकेको छ । अहिले उनी दोस्रो म्यूजिक भिडियोमा व्यस्त रहेका छन् । 
एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले उनी व्यस्त भइरहेका छन् ।  सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य अगाडि प्रिन्सले मोडलिङ गरेका छन् ।  उनलाई मोडलिङमा निशा पाण्डे र जेनी धमलाले साथ दिएका छन् ।  
भकारी एमडिसीको प्रस्तुतिमा सुुरु भएको म्युजिक भिडियो छायाङ्कनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेको निर्देशक सञ्जय पाण्डेले बताए । उनले भने, ‘बालकमा अद्भूत क्षमता छ, जोकोहीलाई पत्यार लाग्न मुस्किल पर्छ ।’ यसअघि प्रिन्सले दशैँको अवसरमा उमङ्गले भरिएको गीत ‘दशैँ मनाउने हो, नाच्दै रमाउने हो’ भिडियो बजारमा ल्याइसकेका छन् ।  
‘गायनमा जस्तै राम्रो प्रस्तुति मोडलिङमा प्रिन्सले देखाएका छन्’, गीतकार तथा भकारी एमडीसीका निर्देशक वसन्त वित्यासी थापाले भने ।  ‘न मानामा नापिन्छ माया’ बोलको गीत पहिलो रेकर्ड भए पनि म्युजिक भिडियो भने दोस्रो हो । उनको दोस्रो गीत ‘दशैँ मनाउने हो’ को म्युजिक भिडियो ‘दशैँअघि नै’ बजारमा आएको थियो । यसलाई दशैँमा बालबालिकाले खुब मन पराएका थिए । 

यो गीतमा वसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गीत रहेको यसमा सौराहाको रमणीय दृश्यलाई देखाउन खोजिएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिए ।  
सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोको छायांकन भने चक्र महर्जनले गरेका छन् । भिडियोमा थारूसंस्कृतिसँगै सौराहाको पर्यटकीय र प्राकृतिक रमणीय दृश्यहरू देख्न सकिन्छ । यसअघि बाल गायक प्रिन्स सिलवालको दशैँ गीत बजारमा आएको छ । सिलवालले बडादसैँलाई लक्षित गरी बालबालिकाहरुको दशै रमाइलो बनाउने खालको गीत सार्वजनिक गरेका हुन् ।
‘दसैँ मनाउने हो, घुम्दै रमाउने हो’ बोलको गीत बालबालिका लक्षित रहेको प्रिन्सका बुवा रमेश सिलवालले जानकारी दिए । धादिङको सलाङ पुख्र्यौली घर भएका सिलवाल परिवार हाल चितवनको सौराहामा बस्दै आएका छन् ।
रमेश पाठकको शब्द रहेको उक्त गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् भने गीतमा बालगायिका दिप्सी भट्टले स्वरमा प्रिन्सलाई साथ दिएकी छिन् । 
यसैबीच, राष्ट्रिय संगीतकर्मी संघको आयोजना एवम् शान्ति सन्देश बचत तथा ऋण सहकारी संस्थाको सह आयोजनामा बडादसैँ शुभकामना तथा सम्मान साँझ २०७५ बाट बालगायक प्रिन्स सम्मानित समेत भएका छन् । कृषि मन्त्री चक्रपाणि खनालले समेतले उनलाई सम्मान गरेका हुन् ।


 

प्रतिक्रिया दिनुहोस