काठमाडौंमा फिल्मको पोस्टर टाँस्न नपाइने

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०७५, १६ : २३
काठमाडौंमा फिल्मको पोस्टर टाँस्न नपाइने

काठमाडौं । बर्षौदेखि राजधानीका हरेक गल्लीका भित्ताहरु नेपाली फिल्मको कब्जा छन् । नयाँ फिल्म रिलिजको समयमा पोष्टर नटाँसिएको कुनै गल्ली हुँदैन ।  अबदेखि भने राजधानीको गल्ली तथा त्यसका भित्तामा नेपाली फिल्मको पोष्टर टास्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंका भित्तामा पोष्टर टाँस्न नदिने भएको हो ।

राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र निर्माता संघले राजधानीका भित्तामा चलचित्रको पोष्टर टाँस्न रोक लागेको जानकारी गराएको हो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले निर्माताको प्रचार सहजताका लागि पोष्टर टाँस्नुको विकल्पको खोजी भइरहेको जानकारी दिए । 

‘महानगरपालिकाले बोलाएर काठमाडौंमा फिल्मको पोस्टर टाँस्न अबदेखि नपाइने जानकारी दिएको छ’ उनले भने ‘ छिट्टै विकल्प खोज्नुपर्छ ।’ कार्यक्रममा संघका अध्यक्ष आकाश अधिकारीले २५ देशका निर्माताहरुको छाता संगठन ‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’ मा चलचित्र निर्माता संघ पनि आबद्ध भएको जानकारी दिए । उनले भने, ‘मैले नेपाली चलचित्र चीनमा नियमित प्रदर्शनका लागि प्रस्ताव राखेको छु । आशा छ बाटो बन्छ होला ।’

प्रतिक्रिया दिनुहोस