टायलको झुपडीबाट सांगीतिक महलमा पुगे रवि ओड

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०७५, ११ : ५८
टायलको झुपडीबाट सांगीतिक महलमा पुगे रवि ओड

काठमाडौँ । २०५४ साल चैतमा टायलको एउटा सानो झुपडीमा जन्मे रवि ओड । बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन् रवि । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित सानो टायलले छाएको झुपडीमा हुर्केका रवि अहिले एकाएक सांगीतिक महलमा पुगेका छन् । 
गरिबीको ज्वालामा पिल्सेको थियो, उनको परिवार । उनका बुबा भारतमा पाले काम गर्छन् । गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका रविको भाग्य एकाएक चम्कियो । जब उनी दोस्रो नेपाल आइडल बन्न सफल उनको परिवारमा खुसीको बाढी आयो । उनको मुहारमा अहिलेसम्म नदेखिएको चमक देखियो । 
कसको भाग्य, कहाँ पुगेर चम्किन्छ, भन्ने पत्तो हुँदैन । आज रविको भाग्य नेपाल आइडल भएपछि चम्कियो । कुनै समय गरिबीबाट केही माथि उठ्न म्यादी प्रहरीसमेत भएका रवि टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीबाट एकाएक सांगीतिक महलमा पुग्दा जोकोही नेपालीले स्याबासी दिन भुलेका छैनन् । 
जतिबेला पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन २ को ग्रान्ड फिनालेका विजेता घोषित भए, त्यतिबेला उनमा खुसीको सीमा थिएन, जिम्मेवारीको महसुस भइरहेको थियो । 
रविका हजुरबुवा पहाडी जिल्ला अछामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए । रविको बाल्यकाल त्यही टायलको झुपडीमा बित्यो । लेखपढ पनि त्यही झुपडीमा भयो । 
गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुई चार पैसा कमाउँदैछन् । कमजोर आर्थिक हैसियत भएका रविलाई उनको सपनाको उडान भर्न पैसाले रोकेन । हजुरबुवाको प्रेरणाले संगीतमा लागेका रवि नेपाल आइडलमा गीत गाउँदागाउँदै सेलिब्रेटी भइसकेका थिए । 
नेपाल आइडल सिजन २ को विजेता बनेसँगै अब आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ । 
नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि उनी गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे । धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे । 
सुदूरपश्चिमबाट अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी उनलाई जिताउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान नै चलाइएको थियो । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएन, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलाई सर्वोत्कृष्ट गायक सावित गरे । 
आज उनी सांगीतिक उचाइमा पुगिसकेका छन् । ढुंगाको काप फोडेर उम्रन सक्छ पीपल, आज रविको लागि त्यस्तै भएको छ । 
 

यस्तो थियो रविको संघर्ष 
रविको जीवन कम्ता संर्घषपूर्ण थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए उनी । म्यादी प्रहरीको पैसाले उनको जीवनमा केही सहजता ल्याएको छ । 
हजुरबाको प्रेरणाले बाल्यकालदेखि नै गुनगुनाउने रवि टुहुरा हुन् । उनी मातृस्नेहबाट वञ्चित छन् । उनलाई जन्म दिने आमा यो संसारमा छैनन् । आज यो खुसीमा आमा भइदिएको भए, रविलाई यस्तै लाग्छ । 
भारतमा पाले बनेका बाबुले रविलाई जिताउन भोट माग्दै हिँडेका थिए । परदेशमा रहेका बुवाले यो खबर सुनेपछि पक्कै हर्षका आँसु बगाए । 
पुरस्कार स्वरुप उनले २२ लाख रुपैयाँको चेक र एउटा होन्डा डब्लुआर भी कार प्राप्त गरे । एउटा एल्बमको सम्झौतासँगै विश्व भ्रमणको मौका समेत उनलाई छ ।
रवि धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा प्रवेश पाएका हुन् । उनका बाजे पनि देउडा गाउने गर्थे । बाजेसँगै उनी गीत गाउने कोशिस गर्थे । गोठालो जाँदा पनि गीत गाउँथे । बाल्यकालमै आमा गुमाएका रवि ओडले औपचारिक रुपमा संगीत सिक्न भने पाएनन् । तर मेला महोत्सवहरुमा गीत गाइरहन्थे ।
‘यो जीत मेरो मात्र होइन । मलाई साथ सहयोग, माया र भोट दिएर यो सफलता दिलाउने तपाईं सबैको जित हो,’ टाइटल जितेपछि उनले भनेका थिए । 

प्रतिक्रिया दिनुहोस