विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ : मुख्यमन्त्री राई

शुक्रबार, ०६ पुस २०७५, १५ : ५७
विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताउनु भएको छ । 

मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उहाँले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गर्नुभयो । 

मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाइ हुने भन्दै विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य प्रारम्भ भइसकेको छ भन्नुभयो । 
उहाँले विराट ट्रेड एक्स्पोले यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन थप टेवा दिने चर्चा गर्दै व्यापार र उद्योगलाई बढावा दिने विराटनगर किमाथाङ सडकको २३ किमी ट्र्याक खोल्न मात्र बाँकी रहेको जानकारी दिनुभयो । 

मुख्यमन्त्री राईले व्यापार मेलाले यस प्रदेशमा कृषि, पर्यटन र उद्योगको क्षेत्रमा थप प्रेरणा मिल्ने धारणा राख्नुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक छ भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले राजनीतिक क्रान्तिपछि अब नैतिक क्रान्तिको आवश्यकता औँल्याउनुभयो । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योग र व्यापारका क्षेत्रमा लागेका मानिसलाई हौसला प्रदान गर्न सरकारी कामकाज सरल हुनुपर्नेमा जोड दिनुभयो । 

मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारदाको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योगी मोति दुगडले पनि विराट एक्स्पोको महत्व माथि प्रकाश पार्नुभएको थियो । 

प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शंकरपुरमार्ग विराट मेडिकल अस्पतालको नजीकै पुस ६ देखि १४ गतेसम्म लाग्ने सो मेलामा प्रत्यक्ष रुपमा रु २० करोडको आर्थिक कारोवार हुने नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सदस्य ललित सिंकडाले जानकारी दिनुभयो । 

मेलामा नेपालका २०८ र भारत, पाकिस्तान र बङ्गलादेशका ४२ गरी २५० वटा स्टल छन् । दैनिक उपभोग्य सामग्री, मेशिनरी पार्टपुर्जा, गाडी, तयार पोशाक, छालाका सामान, हस्तकला वस्तु, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने छ । - रासस

प्रतिक्रिया दिनुहोस