चितवन प्रदर्शनी केन्द्र निर्माणका विषयमा मन्त्री र सभासदसँग चितवन उद्योग संघको छलफल

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०७५, १९ : ४३
चितवन प्रदर्शनी केन्द्र निर्माणका विषयमा मन्त्री र सभासदसँग चितवन उद्योग संघको छलफल

चितवन । चितवनबाट प्रतिनिधित्व गर्नुभएका प्रदेश सभाका माननीय मन्त्री एवं माननीय सभासदहरुसँग चितवन उद्योग संघले छलफल गरेको छ । 

चितवन प्रदर्शनी केन्द्र निर्माणका विषयमा भएको छलफल कार्यक्रममा भुमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री माननीय दावा दोर्जे लामा, प्रदेश सभा (क) क्षेत्र नं. २ का प्रदेश सभा सदस्य घनश्याम दाहाल (अविनास), प्रदेश सभा (ख) क्षेत्र नं. २ प्रदेश सभा सदस्य विजय सुवेदी, प्रदेश सभा (क) क्षेत्र नं. ३ प्रदेश सभा सदस्य कृष्ण भुर्तेल, प्रदेश सभा सदस्य पार्वती सिलवाल, प्रदेश सभा सदस्य कञ्चन खनाल, प्रदेश सभा सदस्य रिता गुरुङको उपस्थिति रहेको थियो । 

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतमा सम्पन्न छलफल कार्यक्रममा माननीय मन्त्री एवं सभासदहरु, चितवन उद्योग संघका पदाधिकारी एवं कार्य समिति सदस्यहरु, गभर्निङ काउन्सिलका संयोजक एवं सदस्यहरु, महिला एवं युवा मञ्चका सदस्यहरुको उपस्थिति रहेको थियो । 

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले चितवन उद्योग संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरु चितवन प्रर्दशनी केन्द्र, औद्योगिक शिक्षालय, शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा माननीय मन्त्री एवं सभासदहरुलाई जानकारी गराउनु भएको थियो । 

छलफल कार्यक्रममा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामाले प्रदेश नं। ३ को केन्द्रविन्दुमा रहेको चितवनमा बन्दै गरेको चितवन प्रदर्शनी केन्द्रको अवलोकन समेत गर्नुभएको थियो । अवलोकनसँगै छलफल कार्यक्रममा सहभागी हुनुभएका मन्त्रीले देशकै मध्यभागमा निर्माण हुन लागेको र सम्पूर्ण नेपालीको चासोको विषयमा रहेको चितवन प्रदर्शनी केन्द्रको लागि प्रदेश सरकारसँग सहकार्य गराई परियोजनालाई सफल बनाउन आफू लागि पर्ने समेत बताउनुभयो । चितवन उद्योग संघले अघि सारेको महत्वपूर्ण परियोजनालाई सफल बनाउन प्रदेश सरकारसँग आग्रह गर्ने समेत उक्त छलफल कार्यक्रममा बताउनुभयो ।

त्यस्तै छलफल कार्यक्रममा माननीय सभासदहरुले प्रदेश नं. ३ अन्गर्तत चितवनमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र नेपालकै नमूना हुने त्यस परियोजनाको लागि आफ्नो तर्फबाट प्रदेश सरकारसँग आवश्यक समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस