यस्तो रहेछ ओली र वामदेव नमिल्नुको कारण

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०७५, १८ : २४
यस्तो रहेछ ओली र वामदेव नमिल्नुको कारण

काठमाडौं । तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनमा झलनाथ खनाल क्याम्प छाडी केपी शर्मा ओली क्याम्पमा बामदेव गौतमको प्रवेशले एमालेको समिकरणमा अदलबदल भयो । ओली, अध्यक्षमा निर्वाचित भए ।

तत्कालिन नेकपा माओवादी केन्द्रसँग पनि अधिक मधुमासे सम्बन्ध रहेका गौतमले नेकपा बनाउनका लागि मध्यमार्गी, समन्वयकारी भुमिका निर्वाह गरेका थिए । गठजोडमा चुनाव लड्ने प्रस्ताव पनि गौतमको थियो । तर समयवस् परिणाम आउँदा नेकपाले जित्यो, गौतमले पराजय भोगे । र, नेकपा अहिले संगठनका अनेक तहको विस्तारमा लागि परिरहँदा भएको स्थायी कमिटीमा एकाएक गौतम आक्रामक भएर प्रस्तुत भए ।

उनले लिखित रूपमा नै ओलीले पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्ने अनुकुल वातावरण नभएको प्रस्ताव र सुझाव पेस गरे । उनको प्रस्ताव छ– अध्यक्षको एकल जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिऔं ।

उनले राखेको फरक मतमा प्रचण्डलाई मात्र अध्यक्ष दिनुपर्ने प्रस्ताव छ । उनले प्रस्तावमा के पनि भनेका थिए भने ‘कुनैपनि कमिटीको कमिटीको अध्यक्षता गर्न दुबै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी लागू गर्ने ।’
एकीकरणका समयमा दुई अध्यक्षात्मक व्यवस्थाको पक्षमा उभिएका गौतमको यो प्रस्तावले ओलीलाई पनि चक्मा दिएको छ । यो असन्तुष्टिको कारण मात्र नभएर सचिवालयका लागि बोलाइएको बैठकमा ओली ढिलो आउनु प्रमूख कारण मागियो । गौतम, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँगै बैठक बहिस्कार गर्ने चार जना मध्येका एक सदस्य हुन् ।

सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी लागू गर्ने भन्ने गौतमको प्रस्तावले नेकपा केन्द्रमा पनि एकमात्र अध्यक्ष बनाउने र त्यो जिम्मेवारी प्रचण्डलाई नै दिनुपर्छ भन्ने सन्देश बोक्छ ।

१५ दिनभित्र केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने, बैठकमा आत्मालोचनात्मक शैलीमा लेखिएको प्रतिवेदन प्रस्तुत गर्नुपर्ने, कुनै नेतालाई विशेष अधिकारयुक्त बनाउने अवस्था समाप्त गर्नुपर्ने विषय गौतमले उठाएका छन् । यसमा ओलीको जवाफ पनि आएको छ ।

ओलीले नेकपाले दुई अध्यक्ष बनाएर विश्वभरका बुर्जुवालाई समेत चुनौती दिएको प्रतिरक्षात्मक जवाफ त दिएका छन् तर गौतम त्यसमा सन्तुष्ट छैनन् ।

ओलीले बुर्जुवाहरुले एउटा जंगलमा दुईवटा बाघ रहन सक्दैनन् भन्ने गरेकोमा नेकपाले दुई अध्यक्ष बनाएर जवाफ दिएको बताएका थिए । उनको यो जवाफ गौतमका लागि थियो ।

यतिमात्र होइन गौतमको प्रस्ताव दुई अध्यक्षबीच मतभेद गराउने प्रपञ्च भएको ओलीको ठहर थियो । यतिमात्र होइन ओलीले गौतमलाई अन्यसँग मिलेर पार्टीभित्र विभाजनको प्रयास गरेको भन्दै सांकेतिक प्रहार पनि गरेका थिए ।

यसकारण बामदेव रुष्ट 
नेकपा एकीकरणताका ओली र प्रचण्डले गरेको विकास प्राधिकरणको जिम्मेवारी दिन ढिलाई गरेकाले पनि गौतम रुष्ट थिए । त्यसैकारण पनि ओली मोर्चाविरुद्ध गौतमको लिखित प्रस्ताव आउनु स्वभाविक भएको मान्छन् पक्षधरहरू ।

गौतमनिकट एकजनाले भने, ‘राजनीतिमा लिने मात्र होइन, दिनका लागि गरेको सहमतिमा पनि नेताहरू इमान्दार देखिनुपर्छ । अन्यथा त्यसको कुनै तुक हुँदैन ।’
गौतमलाई बितेका ६ महिनाको अवधिमा प्रतिनिधि सभा छिराउने र उपप्रधानसहित गृह मन्त्रालय दिने मौखिक सहमति अध्यक्षद्वय ओली र प्रचण्डले गरेका थिए ।

गौतम आफैंले सार्वजनिक गरेको यो तथ्यमा भने दुवै अध्यक्षको कुनै प्रतिक्रिया आएको थिएन । प्रचण्डले गौतमलाई अहिले पनि उक्त विषयमा आफु गम्भिर रहेको बताइँरहँदा ओली मौन रहेपछि उनी आक्रोशित भएका थिए । यसैले स्थायी कमिटीमा उनका अनेक प्रस्ताव र सुझाव पर्न थालेका हुन् ।

गौतमले बर्दियामा आफु हार्नुको कारणमा अन्तरघात भएको र त्यसमाथि कडा छानबिन हुनुपर्ने माग त्यसबेलै राखेका थिए । तर अध्यक्ष ओलीले उक्त मागमाथि सम्बोधन नगरेको भन्ने तुस पनि गौतममा थियो । यसैले आफैंले तयार पारेको दुई अध्यक्षात्मक प्रणालीविरुद्ध उनी उभिएको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस