नेपाली सुन्दरीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा माथिल्लो स्थानमा आउन नसक्नुका कारण के हुन् ?

सोमबार, ०२ पुस २०७५, १६ : ५२
नेपाली सुन्दरीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा माथिल्लो स्थानमा आउन नसक्नुका कारण के हुन् ?

बीबीसी । मिस वर्ल्ड र मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व जनाएका मिस नेपाल शृङ्खला खतिवडा र मनिता देवकोटाले विगतमा नेपालको तर्फबाट हुने प्रदर्शनको दाँजोमा यो वर्ष राम्रो भएको पूर्व मिस नेपालहरूले बताएका छन् ।

थाइल्याण्डको बैंककमा भएको मिस युनिभर्समा मनिताले अन्तिम १० सम्मको स्थान सुरक्षित बनाउन सकिन् भने केही समयअघि चीनको सान्यामा भएको मिस वर्ल्डमा शृङ्खला अन्तिम १२ मा पुग्न सकेकी थिइन्।

उनीहरू दुवैको प्रदर्शनलाई विगतका वर्षमा नेपालले गर्ने प्रदर्शनभन्दा राम्रो मान्नुपर्ने पूर्व मिस नेपालहरूले बताएका छन्।

तालिमको कमी
तर प्रदर्शन राम्रो हुँदाहुँदै पनि किन मिस वर्ल्ड वा मिस युनिभर्स जस्ता उपाधि जित्न नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीहरूले सक्दैनन्?

सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ भन्छिन्, "नेपालको अहिलेको संघर्ष भनेको टप फाइभ वा टप थ्रीसम्म पुग्ने हो। त्यहाँ पुगेर सुन्दरी छनोटका लागि सोधिने अन्तिम प्रश्नको सामना गर्न पाए भने मात्रै नेपालले उपाधि ल्याउन सक्छन् ।"
उनको भनाइमा नेपालीहरू बोल्न सक्छन् तर सुरुका चरण पार गर्न आवश्यक प्रदर्शनहरूमा पछि पर्छन् ।

त्यसको एक मुख्य कारण सदीक्षाको बुझाइमा अन्तर्राष्ट्रिय स्तरको तालिम पाउन नसक्नु पनि हो ।

उनको भनाइमा मत मिलाउँदै पूर्व मिस नेपाल माल्भिका सुब्बा भन्छिन्, "पहिला पहिला भन्दा यो वर्ष नेपालको प्रदर्शन राम्रो भयो । एउटा कारण यो वर्ष पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय ट्रेनरहरू ल्याउनु पनि थियो । त्यस्ता थुप्रै तालिम नेपालका सुन्दरीहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानुअघि पाउन आवश्यक छ ।"

यो वर्ष नेपालको मिस नेपाल आयोजक स‌ंस्था हिडन ट्रेजरले फिलिपिन्सबाट तालिम दिने मानिसहरू ल्याएको थियो ।

'पृष्ठभूमि बलियो हुनुपर्यो'
तालिमको साथसाथै प्रतिस्पर्धी स्वयंको पनि पृष्ठभूमि बलियो हुनुपर्ने माल्भिका बताउँछिन् ।

"जुन वर्ष मिस नेपालमा भाग लियो त्यही वर्षमात्रै सामाजिक कार्य गर्ने जस्तो गरेर पर्याप्त हुँदैन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने सुन्दरीहरू स्वयंको पृष्ठभूमि पनि बलियो हुन आवश्यक छ । र, उहाँहरूले अन्तर्राष्ट्रिय अनुभवहरू पनि पाउन आवश्यक छ ।"

तर नेपालले अन्तर्राष्ट्रिय स्तरका सुन्दरी प्रतियोगितामा जे हासिल गरिरहेको छ त्यो आफैँमा राम्रो रहेको उनीहरू ठान्छन् ।

"सन् २०१० मा मैले विश्व सुन्दरीमा भाग लिन जाँदा पूरा १ महिना पनि तालिम गर्न पाएको थिइनँ, त्यो भन्दा अगाडिका दिदीहरूले त तालिमको कुरै छोडौं लुगा पनि पहिलाको मिस नेपालहरूको लैजाने गर्नुभएको थियो," सदीक्षाले बीबीसीसँग भनिन्, "अहिले त कम्तीमा मिस नेपाल वा मिस युनिभर्समा जाने प्रतिस्पर्धीको त्यस्तो अवस्था छैन ।"

अवस्था सुधारोन्मुख भए पनि मिस वर्ल्ड, मिस युनिभर्स वा अन्य कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने नेपाली महिलाहरूलाई पर्याप्त तालिम दिन नसकिएको उनीहरू बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस