देशभर आज चिसो रहने : काठमाडौँको न्यूनतम तापक्रम २, जुम्लाको माइनस ६

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०७५, ११ : १९
देशभर आज चिसो रहने : काठमाडौँको न्यूनतम तापक्रम २, जुम्लाको माइनस ६

काठमाडौँ । देशभर आज चिसो रहने भएको छ । केही भूभागमा वर्षा र हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली भई आज बिहानैदेखि चिसो बढेको महाशाखाको भनाइ छ । 
महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि चिसो बढ्नेछ । देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुनेछ ।  उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना पनि छ । साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एक र दुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 
आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । साता दिनअघि काठमाडौँको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमशः चिसो बढ्दै गएको छ ।


 

प्रतिक्रिया दिनुहोस