अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुन्छन् : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०७५, १७ : ३१
अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुन्छन् : प्रचण्ड

भरतपुर । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुने बताउनुभएको छ । 

भरतपुर २१ मा रहेको भानु माध्यमिक विद्यालय पहारिलोटारमा भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अब अर्को निर्वाचन आउँदा सडकको धुलोमाटो खान नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले तपाइँहरुलगायत म आउँदा पनि धुलोमाटो खान परेको छ, कुनै टेन्सन नलिनूस् अर्को चुनावसम्म धुलोमाटो खानैपर्दैन, यो तपाइँहरुलाई मैले पूर्ण विश्वास दिलाउँछु ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले समृद्धिको नमुना मोडेल चितवनले प्रस्तुत गर्ने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘म चितवनको प्रतिनिधि हो, त्यसमा पनि क्षेत्र नं ३ को प्रतिनिधि भएको नाताले पनि मैले यो क्षेत्रलाई विशेष रुपमा हेर्नुपर्छ, तर पार्टीको अध्यक्षको नाताले पूर्वप्रधानमन्त्री हैसियतले सबै जिल्लामा मैले ध्यान पु¥याउनुपर्छ ।’ 

कार्यक्रममा अध्यक्ष प्रचण्डले विद्यालयलाई र यो क्षेत्रलाई कम बजेट परेको भए पनि अर्को वर्ष यो क्षेत्रलाई आफूले विशेष रुपमा हेर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो साथ, सहयोग यो विद्यालयलाई हुनेछ, यो क्षेत्रलाई हुनेछ । समग्र चितवनलाई नै हुनेछ । अबको ५ वर्षभित्र चितवनले एउटा मोडेल प्रस्तुत गर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले अध्यक्षको गृहजिल्लामा आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब चितवनमा बाटो बनाउने, कालोपत्रे गर्ने, पानी ट्यांकी बनाउने जस्ता समस्याको कुनै चिन्ता लिनु पर्दैन । ५ वर्षपछि चितवनले काँचुली फेर्नेछ ।’

कार्यक्रममा भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले विद्यालय र वडाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले वडाको समस्या धेरै भएको र विशेष रुपमा हेरिदिन नेकपा अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको थियो । 
विद्यालयको ज्ञान महायज्ञमा ५ करोड उठाउने लक्ष्य लिइएको छ । आज पहिलो दिन १ करोड संकलन भएको थियो ।  

प्रतिक्रिया दिनुहोस