नेपाली कांग्रेसको महासमिति बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, २९ मंसिर २०७५, १४ : ०९
नेपाली कांग्रेसको महासमिति बैठक सुरु

 काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा सुरु भएको छ ।  महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ । 

मङ्सिर २९ देखि पुस ३ सम्म चल्ने बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशाङ्क कोइरालाले साङ्गठनिक प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आर्थिक आयव्ययसम्बन्धी प्रस्ताव र सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको भावी आर्थिक प्रस्ताव प्रस्तुत गरी छलफल गर्ने कार्यसूची छ । महामन्त्री पूर्णबहादुर खड्काको विधान मस्यौदासम्बन्धी प्रस्तावबारे बैठकमा छलफल जारी रहेको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।  

उपसभापति विजयकुमार गच्छदारसित पार्टी एकीकरण हुँदा भएको पूर्वसहमतिअनुसार उहाँको समूहबाट महासमिति बैठकमा दुई सय जना महासमिति सदस्य र १५० जना पर्यवेक्षक थप्ने निर्णय भएको छ । 

बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस